एमाले कास्कीको अध्यक्षमा खगराजनिकट बैनबहादुर निर्वाचित
काठमाडौं । नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित अधिकारीले ५ सय ५१ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी बाँस्तोलाले ३ सय ४७ मत प्राप्त गरे । प्रतिस्पर्धी माधव बाँस्तोलालाई २ सय ४ मतले पराजित गर्दै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।
अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको समर्थन थियो भने बाँस्तोलालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थन थियो । एमाले कास्कीमा अधिकारी नेतृत्वको प्यानलनै निर्वाचित भएको छ ।
यस्तै, उपाध्यक्षमा भेषराज बराल, सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा), उपसचिवद्वय सन्तु सुवेदी र लालबहादुर परियार निर्वाचित भएका छन् । उपाध्यक्षमा निर्वाचित बरालले ५ सय २७, सचिवमा निर्वाचित तामाङले ५ सय ९५, उपसचिवमा निर्वाचित सुवेदीले ५ सय १० र परियार ५ सय ८१ मत प्राप्त गरेका छन् ।
बास्तोला समूहबाट उपाध्यक्ष प्रतिस्पर्धा गरेर पराजित भएका शिव आचार्यले ३८८, सचिवका उम्मेदवार सुरेन्द्र गुरुङले ३२० र उपसचिवमा राधिका शाही योगी ३४४ र सीता विकले ३३४ मत पाएका छन् । निर्वाचनमा ९ सय १४ मत खसेको थियो । मतदान १६ वटा विद्युतीय भोटिङ मेसिनबाट गरिएको र मेसिनबाटै मतगणना पनि गरिएको थियो ।
मंगलबार साँझ साढे ७ बजेदेखि सुरु भएको मतदान बुधबार साढे ३ बजे मात्रै सकिएको थियो । आज दिउसोसम्म सम्पूर्ण जिल्ला कमिटीको मत परिणाम आएको छ ।
प्रतिक्रिया दिनुहोस्: