Bagmati Samachar Logo

महरा विमारी भएकाले हाजिरी जमानीमा छुटेका हुन : गृहमन्त्री लामिछाने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा बिरामी भएकाले हाजिरी जमानीमा छाडेको स्पष्टिकरण दिएका छन् ।

शनिबार आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा उनले महरालाई मानवीय संवेदना र करुणाका आधारमा हाजिरी जमानीमा छाडेको बताएका हुन् ।
उनले भने, ‘८–१० वटा औषधि सेवन गरिरहनुभएको छ, अत्यन्त बिरामी हुनुहुन्छ, सम्मानित अदालतले पनि बिरामी हुनुभएको कुरा इंगित गरेको छ । राज्य निर्मम हुन सक्छ, कठोर हुन्छ, तर राज्यसँग करुणा भएन भने त्यो अन्याय हुन जान्छ ।’

सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगले कारबाही गर्न सिफारिस गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले महरालाई ५ गते कपिलवस्तुबाट पक्राउ गरेको थियो । उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सीआइबीले जिल्ला अदालतबाट समय लिएको थियो । उनको स्वास्थ्य अवस्था कमजोर भएकाले अस्पतालमा राखेको थियो । अस्पतालबाट नै सरकारी वकिलको कार्यालयमा दुई दिन बयान लिएको थियो ।

सत्ता साझेदारीमा रहेका प्रमुख चार दलबीच दोषी जोसुकै भए पनि नछाड्ने सहमति भएको गृहमन्त्री लामिछानेले बताए । ‘अब कोही व्यक्तिलाई जोगाउने होइन, व्यवस्था, संविधान जोगाउने हो भन्नेमा सबै दल प्रतिवद्ध छन्’, उनले भने ।

दोषी कोही नउम्किने र निर्दोष कोही पनि नफस्ने भन्दै उनले कोही दोषी उम्किने अवस्था आएमा पदमा नबस्ने बताए ।

लामिछानेले आफूले कसैसँग प्रतिशोध नसाध्ने बताए ।