Bagmati Samachar Logo

सत्ता गठबन्धनका पाँच दलबीच भयो सातबुँदे सहमति

काठमाडौं । सत्ता गठबन्धनका पाँच दलबीच सातबुँदे सहमतिमा भएको छ । आज सत्तागठबन्धनका नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबीच सातबुँदे सहमति भएको छ ।

यसअघि सरकारकोमाओवादी केन्द्र, एमाले, रास्वपा र जसपाबीच नयाँ सत्ता गठबन्धन बनाउन आठबुँदे सहमति भएको थियो ।

तर, नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी भएपछि मंगलबार बिहान पाँच दलबीच सातबुँदे सहमति भएको हो । मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीचको छलफल भएको थियो । उक्त छलफलपछि सत्ता गठबन्धनमा सामेल पाँच दलबीच सातबुँदे सहमति भएको र नेताहरूले त्यसमा हस्ताक्षर गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

सहमतिमा हस्ताक्षर गरेपछि नेकपा एसले राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाललाई मत दिन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ । यस्तै, नेकपा एसले बुधबार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत पनि दिने भएको छ ।

२१ फागुनमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन भत्काएर एमाले, माओवादी, रास्वपा र जसपाबीचको नयाँ गठबन्धन बनाएका थिए । सोही दिन चार दलबीच आठबुँदे सहमति भएको थियो । दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दा सरकारमा सहभागी भएको नेकपा एसले भने त्यसमा हस्ताक्षर गर्न पाएको थिएन ।