माओवादी केन्द्रको बेलायतको संगठन विभाजन : एक पक्षले पदाधिकारी चयन गरे अर्को पक्षको सम्मेलन चल्दै
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च बेलायत औपचारिक रुपमा विभाजन भएको छ । संगठनका अध्यक्ष मानबहादुर गुरुङको पक्षको सम्मेलन चलिरहेका बेलामा उपाध्यक्ष नवीन स्याङ्तानको नेतृत्वमा छुट्टै नयाँ कार्यसमिति घोषणा भएको हो ।
स्याङ्तानको अध्यक्षतामा आजै सम्मेलन गरी २८ सदस्यीय कार्यसमिति पनि गठन गरिएको छ । उता गुरुङ पक्षको भने सम्मेलन जारी छ । संगठनको सदस्यता वितरणमा मनोमानी गरेको, एकाधिकार शैलीमा प्रश्न र आलोचना उठाउने माथि कारबाहीको डण्डा चलाएको लगायतका कारण देखाउँदै समानान्तर नयाँ कमिटी गठन गरेका हुन ।
गुरुङ पक्षले युवा तथा विद्यार्थी उपर हुर्मत लिने शैलीमा जथाभावी बोलेका थिए । अध्यक्षले सचेत नगराएका कारण संगठन छाडेर युवा विद्यार्थी समूह बाहिरिएका थिए । यता सोही संगठनका सचिवालय सदस्य तथा मिडिया विभाग प्रमुख सन्तोष भट्टराई पक्ष भने तटस्थ बसेको छ ।
भट्टराईले नेतृत्व सामु यस्तो आरोप लगाएर सच्याउन आग्रह गरेका छन ।
१. धनका कुवेरले प्रतिनिधि किन्ने, वास्तविक युद्वालाई उपेक्षा गर्ने, प्रश्न गर्नेलाई मुख थुन्ने स्थिति देखियो ।
२. प्रतिनिधि छनोट गरेर सम्मेलन गर्नुपर्नेमा जसरी पनि निर्वाचन जित्ने र हुलहुज्जत गर्ने स्थिति देखियो । माओवादीका कटिबद्व कार्यकर्ताको नाम नहुने फरक संगठनका मान्छेको लेवि तिरेर भोट बैंक बनाउन आफै पैसा तिरेर हुलकाहुल मान्छे हुलेको देखियो ।
३. पुरानाहरूले युवा तथा विद्यार्थी उपर हेपाह निति लिएको, बोलेको र व्यवहार दर्शाएकाले एक जना पनि ति उर्जावान, कर्णदार युवा विद्यार्थी संगठनमा रहेनन र सबै रिसाएर बाहिरिए ।
सामन्तवादले झिर्नो बनाउँछ, हुकुमप्रमाङ्गीको दास हुन सकिँन र आइएनजीओको अर्दली बस्न नहुने भनेर सचेत, सक्षम, उर्जावान र नैतिकवान सबै संगठनबाट बाहिरिए । यस बुर्जुवा महलबाट क्रान्तिकारी सबै योद्वाहरू बाहिरिए । त्यसैले यो संगठन एक रहेन।


प्रतिक्रिया दिनुहोस्: