बारामा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु
काठमाडौं । बाराको सिम्रौनगढमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ । प्रहरीले चलाएको गोली लागेर सिम्रौनगढ नगरपालिका १ का लक्ष्मी मुखिया बिनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नारायणी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज मैनालीले बताए ।
सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा बा २ झ ४३५४ नम्बरको गाडीमा एक समूहले तोडफोड गरेपछि झडप भएको थियो । सोही क्रममा प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको थियो ।
झडप नियन्त्रणका लागि गएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढाले आक्रमण गरेपछि १० जना प्रहरीसमेत घाइते भएको बारा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: