Bagmati Samachar Logo

हेटौँडामा फिरौती माग्दै घरमा गोली चलाए, भतिज सहिततीन जना पक्राउ

हेटौंडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९, स्थित एक घरमा फिरौति माग्दै गोली प्रहार गरेको खुलेको छ । गोली प्रहार गर्ने आफ्नै परिवारको सदस्य भएको रहस्य प्रहरीले खुलाएको छ ।

ठूलोबुबाको घरमा आफ्ना भतिजले एक करोड रुपैयाँ फिरौती माग्ने योजना अनुसार घरको भित्तामा पाँच राउण्ड गोली प्रहार गरेको मकवानपुर प्रहरीले बताएको छ । तीन जनाको समूहले हेटौँडा उपमहानगरपालिका–९, स्थित सूर्यप्रसाद पौडेलको घरमा १९ मंसिर रातको समयमा गोली प्रहार गरेको प्रहरीले बताएको छ ।

गोली प्रहार गर्नेमा हेटौँडा–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री हुन । एउटै वडाका ३ जनाले एक करोड रुपैयाँ फिरौती माग्ने योजनाअनुसार घरको भित्तामा गोली चलाएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए । उनीहरूले मानवीय क्षति हुने गरी गोली प्रहार गरेका भने थिएनन् ।

सुर्यप्रसादले एक करोड रुपैयाँ माग्न तर्साउने हिसाबले गोली हानेको पाइएको छ । एसपी रिजालका अनुसार गोली हानेपछि सूर्यप्रसादलाई ‘एक खोका’ भन्दै हिन्दी भाषामा एक करोड रुपैयाँ फिरौती मागिएको थियो । पक्राउ परेका निश्चल पौडेलका सूर्यप्रसाद पौडेलका सहोदर ठूलोबुबा हुन् । घटनाको मुख्य योजनाकारका आरोपित पौडेलले छिमेकमा विवाहको मौका पारेर ठूलोबुबाको घरमा गोली प्रहार गर्न लगाएको प्रहरीले जनाएको छ ।

‘स्थानीयले सुरुमा विवाह भएकाले पटका पड्काएको भन्ठानेको पाइयो । पछि पैसा मागेपछि अनुसन्धान गर्दै जाँदा घरमा गोली हानिएको भेटियो । घरमा सरसफाई गर्ने क्रममा गोलीको खोका भेटिएपछि प्रहरीलाई खबर आएको थियो’, एसपी रिजालले भने, ‘घरको भित्तामा पाँच गोली लागेको निशान नै भेटिएको छ । पहिला गोली हानेर पछि हिन्दी भाषामा पैसा मगिएको थियो ।’

एसपी रिजालले हेटौँडामा गम्भीर प्रकृतिको घटना घटेको बताए । ‘गोली हानेको संकेत मात्र हो, एक खोका पैसा भएन भने जे पनि हुन सक्छ भनेर आरोपितहरूले फोनबाट धम्की दिएका थिए’, एसपी रिजालले भने । अनुसन्धानमा आफैँ खटिएका एसपी रिजालले आरोपितहरूले हेटौँडा बजारमा कोठा लिएको बताए ।

कोठामा छापा मार्दा योजनाकार निश्चलको साथबाट स्वचालित पेस्तोलसहित २० थान गोली बरामद गरेको प्रहरीले जानकारी दिएको छ । आरोपितहरुले हेटौँडा–४ मा कोठा लिएर लागुऔषधको समेतको कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले तीन आरोपितको साथबाट २ वटा मोटरसाइकल, २ ग्राम चार सय मिलिग्राम खैरो हिरोइन, लागुऔषध तौल गर्ने तराजु, ५ थान मोबाइल र ५० हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका तीन जनालाई प्रहरीले ज्यान मार्ने उद्योग, लागुऔषध कारोबार र हातहतियारसम्बन्धी मुद्दा चलाउने एसपी रिजालले जानकारी दिए ।