Bagmati Samachar Logo

दुर्गाको भड्काउ भाषण पछि उनका समर्थक प्रहरीसँग जाईलाग्दा झडप

काठमाडौँ  । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाइका समर्थकबीच झडप भयो । प्रसाई समर्थकहरुको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबिच झडप हुनुमा प्रसाईको मुख्य भूमिका छ ।

आफ्ना समर्थकबीच गाडिमा चढेर भाषण सुरु गरेका प्रसाईले छोटो भाषण गरेका थिए । आफ्नो घाटीमा समस्या भएको र भोली अप्रेशन गर्नु पर्ने बताएका प्रसाईले भाषण सक्दै अब हामी शहर प्रस्ने हो । साथिहरु सबै जना शहर जाने हो । शहर जाउ भन्दै भाषणा टुङ्ग्याए । उनलाई भाषण गर्न बल्खुबाट कलंकी जाने मुल सडकमा सानो गाडिमा नै मञ्च बनाएको थियो ।

त्यहि गाडिमाथिबाट भाषण गरेका प्रसाईले शहर पस्न आफ्ना समर्थकलाई उर्दी जारी गरे ।

भाषण टुङ्गेपछि उनका समर्थक पनि हुटिङ गदै बल्खु चोक तर्फ आए । एक समुह बिहान देखि नै बल्खु चोकमा नै थियो । बल्खु चोकबाट कालिमाटी तर्फ आउन खोजेको उनका समर्थको एक गाडिलाई प्रहरीले चोकमा नै रोकेको थियो । बल्खु चोकमा भएका आन्दोलनकारीले प्रसाईको भाषण पनि सुनेन । जब माथिबाट शहर पस्न भन्दै आन्दोलनकारी चोकमा पुगे चोकमा भएका आन्दोलनकारीले हुटिङ गरे । गाडिमाथि बसेका एक जनाले माइकबाट नै गाडिको चाबि मागि रहेका थिए । चाबि प्रहरीले समातेको थियो । जब कि प्रसाईको भाषण नसकिदा सम्म सबै शान्त तरिकाले चलिरहेको थियो ।

जब प्रसाईले शहर पस्न भने त्यसपछि कलंकी तर्फको सडकमा भएका आन्दोलनकारी बल्खु चोकमा जम्मा भएर प्रहरीसँग जोड जबरजस्ती गर्न थाले । तीन चार हजारको समुहले कालिमाटी तर्फ आउन खोजेपछि प्रहरीले उनीहरुलाई बल्खु चोकमा नै बस्न आग्रह गरे । तर आन्दोलनकारीले प्रहरीको कुरा सुन्ने कुरै थिए । अझ गाडिको चाबि खोसेको रिस छदै थियो ।

आन्दोलनकारी उग्र हुदै गए र प्रहरीले लगाएको काँडेतार नै फाल्न सुरु गरे । प्रहरीले एक छिन बल्खु चोक खाली गरेर कालिमाटि तर्फ आए । आन्दोलनकारीले आफूले जितेको ठाने र उनीहरुको पछिपछि ढुङ्गा मुडा गदै आए । बल्खु चोकबाट कालिमाटी तर्फ सय दुई सय मिटर जति आएपछि प्रहरीले उनीहरुलाई बल्खु चोक तर्फ नै फर्काए । प्रहरीमाथि निरन्तर ढुङ्गामुडा भएपछि पानीको फोहरा, अस्रुग्याँस र लाठि चार्ज भएको थियो ।

बिहानबाट शान्त भएको आन्दोलन प्रसाईको शहर पस्ने चाहनाले झडपमा परिणत भएको छ । जब कि विभिन्न स्थानबाट प्रसाईले बोलाएका आन्दोलनकारीलाई शान्तिपूर्ण तरिकाले आन्दोलन गरेर शान्तिपूर्ण तरिकाले घर फर्कानुको सट्टा प्रशासनले अनुमति नदिएको ठाउँमा आन्दोलनकारीलाई जान निर्देशन दिएपछि झडप भएको हो ।

विभिन्न स्थानबाट बल्खु जम्मा भएका आन्दोलनकारीले गणतन्त्र मुर्दावाद, संघीयता खारेज गर, राजा, हिन्दु राज्य ल्याउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, प्रचण्डको गणतन्त्र चाहिदैन भन्दै नारा लगाएका थिए ।

प्रसाई भाषण गरिरहेको समयमा एक हुल मानिस लिएर सांसद ज्ञानबहादुर शाही पनि प्रसाईको मञ्चमा उक्ले । प्रसाईले आफूले भाषण गर्न छोडेर शाहीलाई पालो दिए ।

शाहीले आफ्नो स्वार्थमा भाषण गरे । प्रसाईको आन्दोलनमा लघुवित्त पिडित, शहकारी पिडित, बैंक पिडित र राजा, हिन्दु राष्ट्रको माग राख्नेहरु सहभागी थिए । तर शाहीले वित्तिय पिडितको बारेमा खासै चासो राखेनन् । उनले राजा ल्याउनु पर्ने र गणतन्त्र फाल्नु पर्ने भाषण गरे । उनी व्यवस्थामा केन्द्रीत भए । उनले यो व्यवस्थाको विकल्पमा राजा ल्याउनु पर्ने जोडदार माग सडकबाट राखेर अलप भए ।

जब कि उनको पार्टी राप्रपाले आधिकारीक रुपमा यो आन्दोलनलाई समर्थन गरेको आधिकारीक घोषणा गरेको छैन । तर सस्तो चर्चामा रमाउने शाहीले चार पाँच हजारको मासबीच भाषाण गर्ने मौका पाए ।

शाही त सांसद हुन । केहि सर्वसाधरण र युवाहरु पनि राजा ल्याउने भनेकाले प्रसाईलाई समर्थन गर्न आएको बताए । रातो टिसर्टमा आर.टि.एफ.(रोयल टाइगर्स फोर्स) लेखेका युवाहरु पनि आन्दोलनमा सहभागी थिए । उनीहरुपनि प्रसाईले हिन्दु राज्य र राजा ल्याउने माग राखेकाले समर्थन गदै आन्दोलनमा आएको मुनिन्द्रराज भण्डारीले बताए । उनले भने,‘यहाँ धेरै ऋण लागेकाहरु पनि छन् । उनीहरु व्याज मिना हुन्छ भनेर आएका हुन् । हामी आर.टि. एफ राजा ल्याउनु पर्छ भनेर आन्दोलनलाई सपोर्ट गर्न आएका हौं । यो व्यवस्थाले जनतालाई लुट्यो । यसलाई उल्ट्याउनेसंग हाम्रो सहमति हुन्छ । त्यो जसले भनेपनि समर्थन गछौं ।’

सिन्धुलिका भोजराज बुढाथोकी आन्दोलनमा आउनुको कारण ऋण हो । उनले सिन्धुलिको कृषि विकास बैंकबाट ३२ लाख ऋण लिएका छन् । उनलाई व्याज कम हुने भनेकाले आन्दोलनमा आएको बताउछन् । उनले भने,‘जग्गा धितो राखेर ऋण लिएको हुँ । ९ प्रतिशतमा ऋण लिएको अहिले १८ प्रतिशत पुगेको छ । तिर्नलाई भाका दिनु भन्दा बैंकले भाका दिदैन । यो आन्दोलनले व्याज कम गर्ने भनेको छ । भाका लिए ऋण तिर्ने हो । तर अहिले नै तिर्न सक्दैन । व्यवाज कम हुनु पर्छ ।’

धनुषाका विरेन्द्र महतोले राजा ल्याउनु पर्ने , हिन्दु राज्य घोषणा गराउन आन्दोलनमा आएको बताए । उनले भने,‘देश, धर्म र नागरिक बचाउन आन्दोलनमा आएको हुँ । नेताहरुले भ्रष्टाचार गरेर देश सके । राजा भए यति धेरै भ्रष्टाचार हुदैन । संघीयताले खर्च धेरै भयो । यो खारेज हुनु पर्छ ।’

के राजा आएपछि सबै समस्या समाधान हुन्छ त भन्ने शिलापत्रको प्रश्नमा उनले भने हुन्छ । राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनु पर्छ ।
ऋणका बारेमा सोध्दा एनएमबी बैकबाट ६० लाख ऋण लिएर व्यापार गरिरहेको जवाफ दिए । उनले भने,‘६० लाख ऋण छ । निमार्ण व्यवसाय गरिरहेको छु । म ऋण तिर्छु तर अरुको २० लाख भन्दा तलको ऋण मिनाह हुनु पर्छ । ९ प्रतिशतमा लिएको ऋणको व्याज १८ प्रतिशत भएकाले अन्याय भएको छ यसको अन्त्य हुनु पर्छ ।’

१० जना भन्दा बढी घाइते

आन्दोलनकारीले उग्र रुप लिएपछि झडप भएको थियो । झडपमा आन्दोलनकारीले ढुङ्गा मुडा प्रहार गरेका थिए । आन्दोलनकारीले उग्र रुप लिएपछि प्रहरीले लाठिचार्ज, पानीको फोहरा र अस्रुग्यास हानेको थियो । अस्रुग्याँ हानेपछि आन्दोलनकारीहरु तितरबितर भएका थिए । लाठिचार्जबाट १० जना भन्दा बढी आन्दोलनकारी र केहि प्रहरी घाइते भएका छन् ।

घाइतेको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । झडपमा परी चट्टान थापा (टाउकोमा चोट), कमल शाही, लोकराज जोशी (बैतडी), शम्भु थापा, प्रकाश थापा, प्रभु शर्मा, विश्व हमाल, उर्मिला तामाङ, विक्रम क्षत्री र भरतप्रसाद पाठक (धादिङ) घाइते भएका छन् । पाठकलाई सबैभन्दा बढी चोट लागेको छ । प्रहरीको हातमा चोट लागेको छ ।