Swornakshar Logo

इजरायलमाथि हमला गरेर संसारभरी पुनः चर्चामा आएको हमास कस्तो संगठन हो ?

काठमाडौं । जसरी हमासले इजरायली सीमामा लगाएको तारबाड तोडेर इजरायलीको घर घरमा घुसेर मारे ,बन्धक बनाए इजरायलको लागि यो सब अप्रत्यासित थियो । पुरा कुरा बुझ्नको लागि केहि आधारभूत कुरा जान्नु पर्छ । यससँग जोडिएका मानिस को हुन ? कहाँका हुन ? यो हमास कसरी बन्यो ?

के हो हमास ?

हमास प्यालेस्टाइनको इस्लामिक समूह हो । यो गाजा क्षेत्रबाट सञ्चालित छ । सन् २००७ मा गाजामा नियन्त्रणपछि हमासका विद्रोहीले इजरायललाई बर्बाद गर्ने कसम खाएका छन् । त्यो बेलादेखि अहिलेसम्म यो संगठनले इजरायलमाथि धेरैपल्ट आक्रमण गरिसकेको छ ।

हमासले इजरायलमाथि हजारौँ रकेट दाग्नुका साथै अन्य घातक आक्रमण पनि गर्‍यो । हमासले अन्य समुहको पनि सहयोग लिँदै आएको छ । जवाफमा इजरायलले पनि हमासविरुद्ध सैन्य कारबाही गर्ने गरेको छ । सन् २००७ पछि नै इजरायलले इजिप्टसँग मिलेर गाजामा नाकाबन्दी गरिरहेको छ । आफ्नो सुरक्षाका लागि नाकाबन्दी आवश्यक रहेको इजरायलले बताउँदै आएको छ ।

हमासलाई इजरायलसँगै अमेरिका, युरोपेली संघ, बेलायत लगायत अन्य पश्चिमा देशहरूले आतंकवादी संगठनका रूपमा मान्छन् । छिमेकी इरान हमासको सबैभन्दा ठूलो समर्थक हो । इरानले हमासलाई आर्थिकसँगै हतियार तथा तालिमजस्ता सुविधा उपलब्ध गराउँछ ।

इजरायल, इजिप्ट र भूमध्यसागरबीच जुन भागलाई गाजा भनिन्छ, यो ४१ किलोमिटर लामो र १० किलोमिटर चौडा क्षेत्र हो । यहाँ करिब २३ लाख मानिस बस्छन् । यो संसारको सबैभन्दा धेरै जनसंख्या भएको क्षेत्रमध्ये एक हो ।

गाजाको हवाई क्षेत्र र तटीय क्षेत्र इजरायलको नियन्त्रणमा छ । गाजाबाट कुन चीज बाहिर पठाउने, कुन भित्र्याउने भन्ने कुरा इजरायलले नै तय गर्ने गरेको छ । यसरी नै गाजा सीमाबाट आउजाउ गर्न मानिसहरूलाई अनुमति दिनेरनदिने काम इजिप्टले गर्दै आएको छ ।

इजरायसँग लडाइँ किन ?

इजरायल र हमासबीचको तनाव लामो समययता जारी छ । तर, शनिबार हमास लडाकुले गरेको आक्रमणलाई लिएर कुनै चेतावनी जारी गरिएन । हमासले इजरायलमाथि हजारौँ रकट प्रहार गर्‍यो । योसँगै दर्जनौँ लडाकु सीमा पार गरेर इजरायली क्षेत्रमा पसे । त्यसपछि उनीहरूले मानिसको हत्या र कैयौँलाई बन्धक बनाएर लगे । लगत्तै इजरायलले गाजामाथि हवाई आक्रमण सुरु गर्‍यो । आफूले गाजामा चरमपन्थीहरूका अड्डालाई निशाना बनाएको इजरायलले बतायो ।

अप्रत्याशित किन ?

बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोवेनले आफ्नो रिपोर्टमा गाजाबाट गरिएको हमासको आक्रमणलाई अहिलेसम्मकै सबैभन्दा ठूलो र घातक भनेका छन् । रिपोर्टअनुसार, इजरायलको नयाँ पिँढीले यस्तो ‘क्रस बोर्डर अट्याक’ न देखेका थिए, न त इजरायलले यति ठूलो आक्रमणको सामना नै गरेको थियो ।

यो आक्रमण सन् १९७३ को इजरायलमाथि भएको त्यो आक्रमणको वर्षगाँठभन्दा ठीक एक दिनपछि गरियो, जसलाई इजिप्ट र सिरियाले संयुक्त रूपमा गरेका थिए । उक्त आक्रमणको तारिख र वर्षगाँठको अर्थ हमास नेतृत्वका लागि समाप्त भएको छैन ।

इजरायलको सबैभन्दा ठूलो गुप्तचर असफल किन ?

बीबीसीका सुरक्षा मामिला संवाददाता फ्र्याङ्क गार्डनरका अनुसार, हमासको यो आक्रमण इजरायलको गुप्तचरको असफलताको परिणाम हो । इजरायलको गुप्त कमाण्ड देशभित्र ‘शिन बेट’ र देशबाहिर ‘मोसाद’ नामको एजेन्जीले सम्हाल्छन् । यी निकायसँग इजरायलको पूरै रक्षा प्रणाली र बल पनि जोडिएको हुन्छ ।

गार्डनर भन्छन्, ‘यति ठूलो आक्रमणको योजनाको छनक पनि नपाउनु ठूलो विडम्बनाको कुरा हो । कुनै अलर्ट मिलेको हुन्थ्यो भने समय रहँदै रोक्ने कारबाही हुन सक्थ्यो ।’

पूरै मध्यपूर्वमा सबैभन्दा समृद्ध गुप्तचर एजेन्सी इजरायलसँग भएकाले यस्तो भनिएको हो । उसको जासुस र एजेन्ट्स सिरिया, लेबनानदेखि प्यालेस्टाइनी चरमपन्थी गुटसम्म फैलिएका छन् ।

सीमा सुरक्षाको कुरा गर्ने हो भने सीमामा काँडावाल तारबाट उच्च र बलियो बार लगाइएको छ । यसमा क्यामेरासँगै ग्राउण्ड मोसन सेन्सर पनि छ । पूरै सीमामा लगातार पेट्रोलिङ पनि भइरहेको हुन्छ । गाजा सीमामा यति बलियो तारबारको उद्देश्य थियो हमासका लडाकुको त्यस्तै घुसपैठलाई रोक्न ।

हमासका लडाकु बुल्डोजरको प्रयोग गर्दै काँडे तारलाई भत्काएर इजरायलमा छिरेका थिए । यसबाहेक उनीहरू प्याराग्लाइडर र समुद्री तटीय क्षेत्रबाट समेत इजरायल पस्न सफल भए ।

प्यालेस्टाइनसँग हमासको सम्बन्ध

प्यालेस्टाइनको अस्तित्व रोमनकालदेखि नै छ । यसअन्तर्गत वेस्ट बैंक र अहिले प्यालेस्टाइनकै नियन्त्रणमा रहेको गाजासँग छ । साथै, पूर्व जेरुसलेम र इजरायलको कब्जामा रहेको पूरै क्षेत्र पनि आउँछ ।

रोमनकालमा यो पूरै क्षेत्रलाई प्यालेस्टाइन भनिन्थ्यो । बाइबलमा यो क्षेत्रमा यहुदी साम्राज्य भनेर उल्लेख गरेको पनि पाइन्छ । त्यसैले यहुदी यसलाई आफ्नो पुरानो मातृभूमि मान्छन् ।

सन् १९४८ मा इजरायलले आफूलाई एक स्वतन्त्र राष्ट्र घोषित गरेको थियो । यद्यपि, पूरै क्षेत्रलाई प्यालेस्टाइनकै रूपमा मान्नेहरू अहिले पनि इजरायलको अस्तित्वलाई स्वीकार्दैनन् । प्यालेस्टाइनीहरू पनि वेस्ट बैंकदेखि गाजा र पूर्व जेरुसलेमका लागि एउटै शब्द प्यालेस्टाइनको प्रयोग गर्छन् ।

हमासको उग्रवादी कमाण्डर मोहम्मद देइफले सबै प्यालेस्टाइनी नागरिक र पूरै समुदायलाई एकजुट हुन अपिल गरेका छन् । इजरायलको कब्जालाई उखेलेर फ्याँक्न सबै एकजुट हुनुपर्ने उसको आह्वान छ ।

जेरुसलेमबाट बीबीसीका संवाददाता योलान्डे निल भन्छन्, ‘के वेस्ट बैंक, पूर्व जेरुसलेम वा इजरायल कब्जामा रहेका अन्य क्षेत्रमा बस्ने प्यालेस्टाइनीले हमासको अपिलमा उभिन्छन् रु,ु ठूलो प्रश्न उठ्छ ।’

यो संघर्ष विभिन्न मोर्चामा लड्नुर्पे एक युद्धमा परिणत हुने कुरा पूरै घटनाक्रम हेरेर इजरायलसामु प्रस्ट भइसकेको छ । अवस्था अझै खराब हुँदै गएमा हुन सक्छ, लेबनानको शक्तिशाली उग्रवादी गुट ‘हिजबुल्लाह’ पनि यो युद्धमा होमिन सक्छ ।

इजरायली सेनाले अहिले ठूलो संख्यामा सेनाको टुकडीलाई तैनाथ गर्न आदेश दिएको छ । योसँगै उसले गाजामा लगातार हवाई आक्रमण पनि गरिरहेको छ । यसबाट के संकेत प्रस्ट हुन्छ भने, इजरायल आउने दिनमा ग्राउण्ड अपरेसनको तयारी छ । (बीबीसी हिन्दीबाट अनुवाद)