एमाले बागमतीको अध्यक्षमा कैलाश ढुंगेल , सचिवमा नवराज विजयी
काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनामा उनी निर्वाचित भएका हुन् । उनले कृष्णप्रसाद दाहाललाई पराजित गरेका हुन् । अन्तिम परिणामअनुसार ६९६ मत प्राप्त गरी ढुंगेल निर्वाचित हुँदा उनका निकटम प्रतिस्पर्धी दाहालले ४३९ मत प्राप्त गरेका छन् ।
रामेछापका ढुंगेल यसअघि २०७४ मा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भई प्रदेशमन्त्रीसमेत भएका थिए । उनलाई महासचिव शंकर पोखरेलको समर्थन रहेको बताइएको थियो ।
उता पराजित मकवानपुरका दाहाल तीनपटक सांसद बने भने २०७४ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि अर्थसमितिको सभापति थिए । उनलाई उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको बताइएको थियो ।
सचिवमा नवराज सिलवाल विजयी भएका छन् । उनी मात्र एक मतको अन्तरले निर्वाचित भएका हुन् । सिलवाल ५६८ मतका साथ निर्वाचित हुँदा उनका प्रतिस्पर्धी हस्त पण्डितले ५६७ मत पाए ।
बागमतीको उपाध्यक्षमा दावा दोर्जे लामा, उपसचिवमा प्रेम कुमार महर्जन र भक्त कुमारी लामा विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्: