धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको माओवादी केन्द्रको निष्कर्ष

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको बताएको छ । माओवादीले यसप्रति सचेत हुनुपर्ने बताएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै सचेत हुनुपर्ने निष्कर्ष निकालेको हो।
पार्टी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले देशका विभिन्न भागमा देखा परेको धार्मिक तथा साम्प्रदायिकता खल्बलिने गतिविधिको सम्बन्धमा बैठकमा छलफल भएको बताए।
उनले देशमा अराजकताको संकेतहरू देखापरेका भन्दै त्यसलाई गम्भीरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्ष निकालिएको बताए।
उनले देशमा सामाजिक सद्भाव कायम गर्न सबैले गम्भीरतापूर्वक लाग्नुपर्नेमा बैठकले जोड दिएको बताए।
त्यस्तै, आन्दोलनरत राहत शिक्षकहरूसँग संवाद गरी समस्याको समाधान गर्नुपर्ने विषयमा पनि बैठकमा छलफल भएको उनले बताए।
प्रवक्ता सापकोटाले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकलाई सरोकारवाला पक्षहरूसँग छलफल गरेर निष्कर्षमा पुर्याउनुपर्ने पनि बैठकको निष्कर्ष रहेको बताए।
उनले भने, ‘राहत शिक्षकको मागको सम्बन्धमा, उनीहरूले उठाएका प्रश्नहरू, गुनासोहरूको सन्दर्भमा राम्रोसित छलफल गरेर संवादको माध्यमबाटै हल गर्नुपर्छ भन्नेमा सबभन्दा बढी छलफल भयो। शिक्षा विधेयक संसदमा दर्ता भएको छ, त्यो विधेयकका बारेमा पनि हामीले गम्भीर ढंगले छलफल गर्यौं र त्यसलाई सकेसम्म सबै सम्बन्धित पक्षहरूसँग छलफल गरेर निष्कर्षमा पुर्याउनुपर्छ भन्ने छलफल गर्यौं। देशका विभिन्न भागमा देखापरेको छ, धार्मिक सद्भाव खल्बलिने कुरा, साम्प्रदायिक सद्भाव खल्बलिने कुरा। त्यसमा सद्भाव कायम गर्नुपर्छ। नेपालीहरूमा सामाजिक सद्भावको स्थिति पहिलेदेखि धेरै राम्रो छ। सामाजिक सद्भावलाई कायम गरिराख्नु पर्छ। अराजकताका संकेतहरू देखापरेका छन्।’
उनले अघि भने, ‘त्यसलाई हामीले बेलैमा गम्भीरतापूर्वक लिएर समाधान गर्ने दिशातिर जानुपर्छ। बेलैमा हरेक कुरालाई सम्बोधन गरियो भने समाधान भएर जान्छ, समयमै समाधान गर्ने पहलकदमी लिइएन भने विकराल रूप लिनसक्छ। त्यसैले बेलैमा सचेत भएर यी समस्याहरू समाधान गर्नुपर्छ भनेर हाम्रो छलफल भयो। जनतासँग माओवादी विशेष रूपान्तरण अभियानमा सामाजिक सद्भाव कायम राख्न सबै पार्टी पंक्ति गम्भीरतापूर्वक लाग्नुपर्यो। बाहिर पनि छलफल चलाउनु पर्यो। नेतृत्व लिनुपर्यो। सामाजिक संघ, संस्थासँग अन्तर्क्रिया गर्ने पनि भनिएको छ।’
प्रवक्ता सापकोटाले सरकारले सुशासनको क्षेत्रमा र भ्रष्टाचार नियन्त्रणमा पहलकदमी लिइरहेको भन्दै सरकारलाई साथ दिन सबैमा अपील गरे।
प्रतिक्रिया दिनुहोस्: