Bagmati Samachar Logo

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा उनी विरुद्धको अवहेलना मुद्दा दोस्रो नम्बरमा सुनुवाइ हुँदै

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले चीन भ्रमणमा रहेका छन् । उनी विरुद्धको अवहेलना मुद्दा सर्वोच्च अदालतमा आइतबार सुनुवाइका लागि पेसीमा चढेको छ ।
द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलाका बारेमा टिप्पणी गरेपछि अधिवक्ता दिनेश त्रिपाठीले प्रचण्ड विरुद्ध २०७३ जेठ १२ अवहेलनाको मुद्दा दर्ता गराएका थिए ।
उक्त मुद्दा ७ वर्ष पछि आइतबार सुनुवाइको लागि दोस्रो नम्बरमा रहेको छ ।
उक्त मुद्दा हालसम्म २१ पटक पेसीमा चढेको र १९ पटक हेर्न नभ्याइनेमा परेको थियो । दुईपटक विपक्षीको कानुन व्यवसायीबाट स्थगित गरिएको देखिन्छ । उक्त मुद्दा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा छ ।
सर्वोच्चले पाँच वर्षमाथिको मुद्दा भएकाले सुनुवाइको लागि प्राथमिकता दिएको हो । प्राथमिकता पाएका कारण मुद्दाको पेसी दोस्रो नम्बरमा परेको छ ।
नेपालको सर्वोच्च अदालतमा मुद्दाको सुनाइ भइरहदा प्रधानमन्त्री प्रचण्ड भने संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्न अमेरिका पुगेका हुदै चीन भ्रमण गएका छन् ।
अदालतमा मुद्दा माओवादी केन्द्रका अध्यक्षको नाममा दर्ता भएको थियो । द्धन्द्धकालीन मुद्दाको अदालतबाट भएको फैसलामाथि टिप्पणी गरेकाले अवहेलना ठहर गरेमा उनी माथि नैतिक संकट पर्ने बताइन्छ ।
उक्त विवादमा प्रधानमन्त्री प्रचण्डले लिखित जवाफ समेत पठाएका छन् । उनले आफ्नो लिखित जवाफमा आफूले अदालतको अवहेलना नगरेको र संक्रमणकालीन न्यायको विषय अदालतले होइन सत्यनिरुपण तथा मेलमिलाप आयोगबाट टुङ्गो लाग्नुपर्ने भनेको बताउँदै गर्दै रिट खारेज हुनुपर्ने जिकिर गरेका छन् ।
तर उनको मुद्दामा आज सुनवाई हुदै छ ।