एमाले बागमती प्रदेश अधिवेशनमा अध्यक्षमा केन्द्रीय नेता आकांक्षि, नेतृत्व चुनाव हुन नदिने तयारीमा
काठमाडौं । नेकपा बागमती प्रदेशको पहिलो अधिवेशन आउदो सोमबारबाट सुरु हुदै छ । अधिवेशन काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुनेछ । अधिवेशनमा प्रदेशका मात्र होइनन् पोलिटब्युरो र केन्द्रीय सदस्य नै प्रतिनिधि भएर आएका छन् । प्रतिनिधि हुनु भनेको नेतृत्वको लागि प्रतिस्पर्धा गर्ने तयारी हुने एक प्रदेश कमिटी सदस्य बताउछन् ।
आउँदो सोमबारबाट सुरु हुने प्रदेश अधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली चुनाव नै नहुन दिने तयारीमा लागेका बताइन्छ । उनले पार्टीभित्र दुईवटा समूह बनेर हुने प्रतिस्पर्धालाई रोक्ने गरी नेताहरूसँग छलफल सुरु गरेका छन् । अहिले अध्यक्ष ओलीको प्रतिस्पर्धी कोहि नभएपनि दोस्रो पुस्तामा केन्द्रमा दुई समुह छन् । उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको । अझ प्रदेश अनुसार फरक फरक गुट सक्रिय छन् ।
एमालेको लुम्बिनी प्रदेशमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गुटगत प्रतिस्पर्धा भएको थियो । अध्यक्ष ओलीले निर्वाचन नै रोक्न चाहेका थिए तर सफल हुन सकेनन् । अहिले बागमती प्रदेश अधिवेशनमा भने गुटगत प्रतिस्पर्धा रोक्ने प्रयास भएको छ ।
एमाले केही पदाधिकारीसँग बागमती प्रदेशको अध्यक्षमा चुनाव हुन नदिनका लागि छलफल गरिरहेको एमाले स्रोतले बताएको छ । बागमती प्रदेशका अहिलेसम्म चार जना नेताले अध्यक्षका लागि बलियो दाबी गरिरहेका छन् । एमालेका केन्द्रीय सदस्य कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, सानु श्रेष्ठ र प्रदेश अध्यक्ष केशव पाण्डे रहेका छन् । पाण्डे अहिले अध्यक्ष दोहोर्याउने प्रयासमा लागिरहेका छन् ।
अध्यक्ष केपी ओली नै अहिले चुनावको सट्टा अध्यक्षमा सर्वसम्मत गराउने प्रयासमा लागेका कारण पनि उनी छायामा परेका हुन् । अहिले ओलीले सानु श्रेष्ठ र कैलाश ढुंगेलमध्ये एक जनालाई अध्यक्ष बनाउने प्रयासमा छन् । सानु श्रेष्ठ बागमती प्रदेशको सभामुख थिए भने ढुंगेल मन्त्री थिए ।
सभामुख श्रेष्ठकै भूमिकाका कारण शाक्य मुख्यमन्त्री हुन सकिनन् । त्यसो त, त्यतिबेला बागमती प्रदेशको आर्थिक मामिलामन्त्री रहेका ढुंगेलले पनि इतर समूहको रणनीति फेल गराउन अनेक प्रयास गरेका थिए ।
दाहाललाई मकवानपुरले प्रदेश अध्यक्षको रूपमा अगाडि सारेको भए पनि उनी ओली समूहमा पूर्ण रूपमा लागेका थिएनन् । नेकपाको विवादमा बीचमा रहेका दाहाल अन्तिम समय मात्रै ओली समूहमा खुलेका थिए । त्यसैले, अहिले ओलीले दाहाललाई अध्यक्ष बनाउने विषयमा कम चासो दिएको पनि एमाले स्रोतको दाबी छ ।
एमाले नेताहरूको भनाइमा ओलीले सर्वसम्मतका लागि वरिष्ठ उापध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललागयतका नेताहरूसँग छलफल गरेका छन् । बागमती प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेहरूको भूमिका पनि प्रभावशाली हुन्छ । लुम्बिनीमा झैँ पौडेल र पोखरेलको समूह बन्दा पार्टी कमजोर बन्ने भन्दै ओली सहमति जुटाउन पार्टी पङ्क्तिलाई सन्देश प्रवाह गरेका छन् । तर, नेताहरू भने प्रतिस्पर्धा गर्ने मुडमा देखिएका छन् । यद्यपि, पाण्डे र शाक्यहरूले अहिलेसम्म कुनै पनि नेतालाई अगाडि सारेका छैनन् । एमालेभित्र १० बुँदे समूह भनेर चिनिने यी नेताहरू पक्षधरता लिने मुडमा पनि छैनन् ।
प्रतिक्रिया दिनुहोस्: