Swornakshar Logo

प्रधानमन्त्रीले गरे एसियाली खेलकुदका लागि खेलाडीलाई बिदाइ , भने सरकारले घोषणा गरेको पुरस्कार पाइँदैन की भन्ने चिन्ता नलिनुहोला

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसियाली खेलकुदका लागि खेलाडीहरुको बिदाई गरेका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १९औँ एशियाली खेलकुदका लागि चीन जाने नेपाली खेलाडीहरूलाई बिदाइ गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले खेलाडीलाई बिदै गदै सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कार पाइदैन कि भनेर चिन्ता नलिन भनेका छन् । उनले शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट पुरस्कार निकासा हुने बताएका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १९औँ एशियाली खेलकुदका लागि चीन जाने नेपाली खेलाडीहरूलाई बिदाइ गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । सरकारले र प्रधानमन्त्रीले घोषणा गरिसकेको पुरस्कार पाइँदैन की भन्ने चिन्ता नलिन खेलाडीहरूलई उनले आग्रह गरे ।

‘सरकारले र प्रधानमन्त्रीले घोषणा गरिसकेपछि हुँदैन की भन्ने टेन्सन नलिनुहोला । हामीलाई भनेजस्तो पूर्वाधार छैन, त्यसकारण आधुनिक सुविधा सम्पन्न रंगशाला बनाउने कुरा, कभर्ड हल बनाउने कुरा वा विभिन्न विधाका खेलहरुको निम्ति आवश्यक पर्ने पूर्वाधारको कुरामा ध्यानाकर्षण भएको छ,’ प्रचण्डले भने, ‘यो पटकको चीन भ्रमणमा खेल क्षेत्रमा केही उल्लेख्य कामको निम्ति म पहल गर्नेछु ।’

उनले खेलाडीलाई घोषणा गरिएको पुरस्कार खेलाडीहरूले आजसम्म पनि नपाएको भन्ने कुरा आफूलाई जानकारी रहेको भन्दै केही प्राविधधिक कारण र नीतिगत कारणले दिन नसकिएको प्रस्टीकरण दिए । अहिले नियमावली बनेर अर्थ मन्त्रालयबाट खेलकुद मन्त्रालयमा पुगेको र शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकबाट पैसा निकासा हुने उनको भनाइ छ ।

‘यसअघि घोषणा गरिएको पुरस्कार खेलाडीहरूले आजसम्म पनि नपाएको भन्ने कुरा मलाई जानकारी छ । केही प्राविधिक कारणले, केही नीतिगत कारणले ढिला हुन गएको म दुःख व्यक्त गर्न चाहन्छु । मैले नै खेलाडीलाई घोषणा गरेको पुरस्कार नियमावलीको अभावको कारण भनेर निकासमा समस्या परेको थियो, अहिले त्यो नियमावली बनेको छ,’ प्रचण्डले भने, ‘अर्थ मन्त्रालयबाट त्यसको स्वीकृत भइ आजै खेलकुद मन्त्रालयमा आइपुगेको छ, भोलिको क्याबिनेटबाट सबै पैसा निकासा हुन्छ ।’

 

देशमा खेल क्षेत्रका भनेजस्ता पूर्वाधार नरहेको उल्लेख गर्दै प्रचण्डले आधुनिक सुविधा सम्पन्न रंगशाला बनाउने कुरा, कभर्ड हल बनाउने कुरा वा विभिन्न विधाका खेलहरूको निम्ति आवश्यक पर्ने पूर्वाधार निर्माणमा चीन भ्रमणमा खेल क्षेत्रकै प्रगतिका लागि उल्लेख्य पहल गर्ने प्रतिबद्धता जनाए ।

‘नेपाल सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको छ,’ प्रचण्डले भने, ‘त्यसका लागि खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीको आत्म स्वाभिमान र प्रोत्साहन, पुरस्कारका साथै वृत्ति विकासमा थप योगदान गर्ने राज्यको भूमिकालाई प्रभावकारी र जिम्मेवारपूर्ण रूपमा निर्वाह गर्न सरकार प्रयत्नशील रहेको छ ।’

एशियाली खेलकुद हेर्न आफू उद्घाटन सत्रमा भाग लिने भन्दै सो क्षण आफ्ना लागि गौरवको विषय हुने प्रचण्डको भनाइ छ । खेल क्षेत्रको विकास राष्ट्र विकासको रणनैतिक र महत्वपूर्ण आधार बनेको बताउँदै उनले सरकार खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको बताए ।

‘यस पटक नेपालले राम्रो गर्ने विश्वास राख्न सकिन्छ । म आफू समेत यस पटक प्रतियोगिता हेर्न र त्यसको उद्घाटन सत्रमा सहभागी हुन चीन भ्रमणमा जाँदैछु । यो मेरो लागि पनि रोमाञ्चक समय हुनेछ,’ प्रचण्डले भने, ‘यसले तपाईंहरू, मेरो लागि पनि र देशको लागि विशिष्ट गौरवको क्षण हुनेछ । त्यसको उत्साहका साथ म बेइजिङ गएर चीन भ्रमणलाई सफल पार्नेतिर केन्द्रित हुनेछु ।’

प्रधानमन्त्री प्रचण्डले एसियाड गेमका लागि नेपाली खेलाडीलाई चीनमा राम्रो व्यवस्थापन भइसकेकाले चिन्ता नलिन पनि आग्रह गरे ।

ु‘खेलकुद मात्र यस्तो एउटा क्षेत्र हो जहाँ खेलमार्फत ठूला युद्ध र मानव सिर्जित विपत्तिहरू समाधान भएका छन् । ठूला द्वन्द्व र सम्भावित नरसंहार पनि खेल क्षेत्रले टारेको छ । खेलमार्फत आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनःमिलनका आधार तय भएका छन्,’ प्रचण्डले भने, ‘खेल क्षेत्रको विकास राष्ट्र विकासको आज एउटा रणनैतिक र महत्वपूर्ण आधार बनेको छ ।’