माधव र झलनाथको शक्ति संघर्षका कारण युवा संघ फुट्यो

नेकपा एकीकृत समाजवादी पार्टी स्थापनाको २ वर्षको पुगेको छ । यहिबीचमा ७ भदौमा केन्द्रीय कमिटी बैठक सकेका कारणले पनि नेता र कार्यकर्ताहरूमा नयाँ उत्साह हुनु पर्ने हो । तर एकीकृत समाजवादी पार्टी र यसको भातृ संगठनमामा त्यसको ठिक उल्टो भएको छ । विवाद निराशाले संगठन फुटेको छ ।
संयोग पनि एमालेबाट पार्टी अलग गरेर नेकपा एकीकृत समाजवादी भएको दिन नै त्यसको यसको भातृ संगठन युवा संघ फुटेको छ । ९ भदौको बिहान एक साथ दुईवटा समूहका समानान्तार बैठक बस्यो । फुटको जग ९ गते नै बस्यो । आज १० गते फुटेको छ । एक पक्षले आफ्नो पक्षको संयोजक र अर्को पक्षको सहसंयोजक घोषणा गरेको छ ।
युवा संघका अध्यक्ष नरेश शाही र महासचिव दीपक जीएम पक्षले कालोपुलमा वेस्ट भेनु पार्टी प्यालेस र उपाध्यक्ष नितेश पौडेल समूहले बानेश्वरको अर्याल होटलमा बोलाएको थियो । उनीहरूको बैठक आइतबार पनि जारी छ ।
विवादको सुरूवात
युवा संघमा खासमा दुई पक्षबीच सचिवालय संख्याको विषयमा विवाद भएको हो । संघको महाधिवेशनका लागि तय गर्न खोजिएको कमिटीको विवादमा दुई पक्षवीच लामो समयदेखि विवाद भइरहेको थियो । विवाद सल्टाउन पार्टीका नेताहरूले प्रयास नगरेका पनि होइनन् । महासचिव घनश्याम भुसाल नै सक्रिय थिए उनीहरूको विवाद सल्टाउन । उनले निर्देशन पनि जारी गरेका थिए ।
अध्यक्ष नेपालका भाञ्जासमेत रहेका नितेश पौडेल पक्षले ४ सय २५ सदस्यीय सचिवालय रहेको बताइरहँदा खनाल पक्षका अध्यक्ष नरेश शाही पक्षले ३ सय ६ जना सचिवालय सदस्यहरूको नाम सार्वजनिक गरेको थियो । सचिवालयको सदस्यहरूको उक्त संख्यामा विवाद भएपछि बैठक बस्न नसक्ने अवस्था सिर्जना भएको हो ।
उक्त विवाद मिलाउने भन्दै शुक्रबार पार्टी अध्यक्ष नेपालले महासचिव घनश्याम भुसाल, उपाध्यक्ष प्रमेश हमाल, केशवलाल श्रेष्ठ, युवा संघ इन्चार्ज दिलु पन्त र युवा संघ अध्यक्ष नरेश शाही, महासचिव दीपक जीएम, उपाध्यक्ष नितेश पौडेल, कृष्ण विक, उपमहासचिव संजीव राई, रोशन थापा, सचिव फुर्वा लामासँग छलफल गरेका थिए । तर, पार्टीले नै सचिवालय संख्यामा कुरा मिलाउन नसकेपछि युवा संघ समानान्तर बैठकमा लागेका हुन् ।
गत मंसिरमा युवा संघका अध्यक्ष शाहीले सुदूरपश्चिम बाजुराको प्रदेशसभा क बाट निर्वाचित भए । शाही प्रदेशसभामा निर्वाचित भएपछि उनले प्रदेशसभामा नै समय दिनुपर्ने भएपछि कार्यवाहक अध्यक्ष कृष्ण विकलाई दिए । कार्यवाहक दिँदा अध्यक्ष शाही र महासचिव जीएमलगायत केही नेताहरूको तजबिजीमा भएको पौडेल पक्षको आरोप छ । संगठनभित्र छलफल नै नगरी उनीहरूले जुनियर विकलाई कार्यबाहक तोकेको पौडेल समूहको भनाइ रहेको छ । शाही सांसद भएपछि कार्यवाहकको चाहना नितेश पौडेलले गरेका थिए । उनी अध्यक्ष माधव नेपालको सचिवालयमा पनि रहेका छन् । पौडेलले कार्यबाहक नपाएपछि युवा संघमा विवाद सुरु भएको हो । त्यसपछि संगठनको बैठक समेत बस्न नसक्ने अवस्था सिर्जना भएको थियो ।
शाहीको निर्देशनमा युवा संघको माइन्युटमा भएकालाई मात्र सचिवालय सदस्य मान्ने भनियो, जसलाई संस्थापनइतर समुहले अस्वीकार गर्यो । विरोधका बावजुद संस्थापन समूहले माइन्युटमा भएका ३०६ जना सचिवालय सदस्यको नाम सार्वजनिक गर्यो । जसमा १ सय भन्दा बढी सचिवालय सदस्यहरूको नामावली छुटेको भन्दै अर्को पक्षले ४२५ जनाको सचिवालय सदस्यको नामावली सार्वजनिक गर्यो ।
सचिवालयको बैठक पार्टी अध्यक्ष नेपाल, महासचिव भुसाल सहभागी हुने कार्यक्रम थियो । तर, संगठन नै सदस्यहरूको विवादका कारण समानान्तर गतिविधि हुने भएपछि संस्थापन पक्षको बैठकमा प्रमुख अतिथि उपमहासचिव मोर्चा फाँटका इन्चार्ज विजय पौडेल सभागी भए । संस्थापनइतर समूहको बैठकमा नेकपा एसका केन्द्रीय सदस्य राजीव गुरुङ ‘दिपक मनांङे’ सहभागी भएका थिए ।
एकै दिनमा नेतृत्व चयन तयारी चौपट
शनिबारको बैठकबाट महाधिवेशन आयोजक समिति घोषणा गर्ने तयारी पार्टीले गरेको थियो । तर, विवाद नमिलेपछि एक दिनमा सचिवालय बैठक बसेर नेतृत्व चयन गर्ने पार्टीको निर्देशन नै अलपत्र परेको छ । शनिबारको सचिवालय बैठकमा एक मात्र एजेण्डा थियो महाधिवेशन आयोजक समिति चयन गर्ने । बैठकले संयोजक, सहसंयोजक र महासचिव चयन गर्ने एजेण्डा थियो । फरक(फरक स्थानमा बैठक बसेपछि दुवै समूहले आयोजक कमिटी बनाउन सकेका छैनन् । शाही समूहले सचिवालयको बैठक उद्घाटन भए पनि नेतृत्व चयनको एजेण्डामा छलफल नै गर्न नसकेको एक सचिवालय सदस्यले बताए । त्यसैगरी, संस्थापनइतर समूहले पनि शनिबार बैठक बसेर सामान्य छलफल गरे पनि नेतृत्व चयन गर्न नसकेको एक सचिवालय सदस्यले जानकारी दिए ।
पौडेल पक्षले पार्टी कार्यलयमा पुगेर बहुमत सचिवालय सदस्य राजीनामा दिने तयारी गरिरहेका उपमहासचिव रोशन थापाले बताए । थापाले भने, ‘संगठनमा विवाद भयो, विवाद नमिलेपछि हामीहरू सामूहिक राजीनामा पार्टी अध्यक्ष र महासचिवलाई बुझाउन पार्टी कार्यलयमा गयौँ ।’
संस्थापनइतर पक्षले अहिले पनि बैठक बस्ने हो भने सचिवालय सदस्यको संख्या ४२५ नै हुनुपर्ने माग राखेको छ । नेतृत्वमा विवादमा आएका व्यक्तिभन्दा बाहिरबाट नेतृत्व चयन गर्नुपर्ने माग पनि रहेको थापाले बताए ।
आज नै संयोजक कृष्ण विक र सहसंयोजक नितेश पौडेललाई बनाउने निर्णय भएको महासचिव दीपक जीएमले बताए । उनले भने, ‘अहिले पार्टी अध्यक्ष र महासचिव कार्यक्रममा आउने र संयोजक र सहसंयोजक घोषणा गर्ने निर्णय भएको छ । मान्दैनौँ भने त हाम्रो भन्नु केही छैन ।’
जब कि पौडेल पक्ष संस्थापन पक्षको बैठकमा नै सहभागी भएका थिएनन् । सानो पार्टी भएकाले अहिले हरेक कुरा जोडको तोड गर्न नसकिने हुँदा मिलेर नै संयोजक र सहसंयोजक बनाउने निर्णय भएको जीएम बताउँछन् । संस्थापनइतर समूहका थापा भने विक र पौडेलेलाई नेतृत्व बनाउन नहुने तर्क गर्छन् ।
प्रतिक्रिया दिनुहोस्: