Bagmati Samachar Logo

नेकपा एसको युवा संघमा नेतृत्वको लडाइ

काठमाडौं । एकीकृत समाजवादीको भातृ संगठन युवा संघमा नयाँ नेतृत्वको लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पक्षबीच प्रतिस्पर्धा सुरु भएको छ ।

दुई पक्षबीच सचिवालय संख्यामै विवाद छ । अध्यक्ष नेपालका भाञ्जासमेत रहेका नितेश पौडेल पक्षले ४२५ सदस्यीय सचिवालय रहेको बताइरहँदा खनाल पक्षले भने ३०६ जना सचिवालय सदस्य रहेको भन्दै नाम सार्वजनिक गरेको छ ।

विवादकै बीच भोलि बैठक बसेर महाधिवेशन आयोजक समिति घोषणा गर्ने तयारी रहेको खनाल पक्षमा रहेका उपमहासचिव संजिव राई बताउँछन् । ‘सचिवालय बैठक भोलि बस्छ । यो बैठकले महाधिवेशन आयोजक समितिको संयोजक र महासचिव चुन्छ,ु उनी भन्छन्, ुसचिवालय सदस्यहरू संगठनको अध्यक्ष र महासचिवले निकालेको लिष्ट नै हो । अरु कोही छैनन् ।’

तर, पौडेल पक्ष भने छुट्टै भेला गरेर भए पनि नेतृत्व चयन गर्ने तयारीमा देखिन्छ । जसका कारण सुरुदेखि नै विवादमा रहेको युवा संघमा थप विवाद बढेको हो । भोलिको बैठकले संयोजक र महासचिव चुन्ने भएपछि दुवै पक्षबीच नेतृत्वको लागि प्रतिस्पर्धा सुरु भएको हो ।

संघका अध्यक्ष नरेश शाही र महासचिव दीपक जीएम खनालको पक्षमा खुलेपछि विवाद सुरु भएको हो । शाही सुदूरपश्चि प्रदेशसभामा निर्वाचित भएर मन्त्री बनेपछि उपाध्यक्ष कृष्ण विकलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् । शाही र जीएमले छलफल नै नगरी विकलाई कार्यवाहक दिएको भन्दै पौडेल पक्ष रुष्ट छ ।

कार्यवाहक अध्यक्ष विकलाई संयोजक र उपमहासचिव राईलाई महासचिव बनाउने तयारी खनाल पक्षको छ । नेपाल पक्ष भने उपाध्यक्ष तथा संगठन विभाग प्रमुख पौडेललाई संयोजक र सचिव फुर्वा लामालाई महासचिव बनाउने तयारीमा देखिन्छ ।

आज अध्यक्ष नेपालले विवाद मिलाउन महासचिव घनश्याम भुसाल, उपाध्यक्ष प्रमेश हमाल, केशवलाल श्रेष्ठ, युवा संघ इन्चार्ज दिलु पन्त र युवा संघ अध्यक्ष शाही, महासचिव जीएम, उपाध्यक्ष पौडेल, कृष्ण विक, उपमहासचिव संजीव राई, रोशन थापा, सचिव फुर्वा लामासँग छलफल गरेका थिए । तर, सचिवालय संख्यामा कुरा मिलेन । भोलिसम्म मिलाउन भनिएको छ ।

पार्टी महासचिव भुसालले साउन २९ को निर्णय लागू गराउनु भन्दै युवा संघलाई निर्देशन दिए । उक्त निर्णयमा युवा संघले सचिवालय बैठक बोलाएर त्यही बैठकबाट आयोजक समिति घोषणा गर्ने भनिएको छ ।

उक्त पत्रपछि विवाद झन बढेको छ । पत्रमा माइन्युटमा भएका मात्र सचिवालय सदस्य हुने, ४० वर्ष कटेका नेताहरू बिदा हुनुपर्ने लगायतको निर्देशन दिइएको छ ।

भुसालको निर्देशनपछि खनाल पक्षले ३०६ जना सचिवालय सदस्यको नामावली प्रकाशित गरेको हो । त्यससँगै एकलौटी रूपमा नामावली प्रकाशित गरेको भन्दै पौडेल पक्षले अर्को नामावली प्रकाशित गर्‍यो ।

९ भदौमा सचिवालय बैठक बोलाउन दुवै पक्ष सहमत थिए । युवा संघको ११ सदस्यीय कार्यलय कमिटीले मिति तोकेको हो ।

सचिवालय संख्यामै विवाद भएपछि भोलिको बैठक अनिश्चित भएको सचिव लामा बताउँछन् । ‘सचिवालय बैठकका लागि पहिला सचिवालय सदस्यहरूको टुङ्गो लाग्नुपर्छ । ११ बजेसम्म सदस्यको कुरा मिल्यो भने बैठकमा सहभागी हुन्छौँ,ु उनले भने, ुहोइन भने हामी बहुमत सचिवालय सदस्य बैठकमा जादैनौँ । अलग्गै भेला गर्छौं ।’

तर, खनाल पक्ष भने यसका लागि तयार छैन । ‘पार्टीको निर्देशनअनुसार माइन्युटमा भएका सचिवालय सदस्यहरू भोलीको बैठकमा सहभागी हुन्छन् । अरु जो जो भन्यो त्यो हुँदैनन्,’ उपमहासचिव राईले भने ।