Bagmati Samachar Logo

एमसीसी अन्तर्गत प्रसारण लाइन बनाउन मकवानपुरमा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु

हेटौंडा । अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) द्वारा सन्चालित विद्युत प्रसारण लाइन निर्माणका लागि मकवानपुरमा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ ।

४०० केभी विद्युत प्रसारण आयोजनाअन्तर्गत रातमाटे सबस्टेसनदेखि नयाँ हेटौंडा सबस्टेसन खण्डमा पर्ने जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज सूचना सार्वजनिक गर्दै थाहा नगरपालिका वडा नम्बर ८, कैलाश गाउँपालिका वडा नम्बर ३, ४, ५ र ६, राक्सिराङ गाउँपालिका–१ र हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ३ र १९ मा जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको हो ।

सूचना प्रकाशित भएको मिति २०८० भदौ १ गते देखि २१ दिनभित्र सरोकारवाला व्यक्तिले अधिग्रहण हुने जग्गामा कुनै घर, टहरा, रुखबिरुवा, बालीनाली लगायतका अन्य संरचना भए सोसमेतको मुआब्जा तथा क्षतिपूर्तिको दाबी सहित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिन सक्नेछन् । साथै जग्गा अधिग्रहण गर्न नपर्ने कुनै मनासिब कारण भएमा पनि सात दिनभित्र निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

४०० केभी विद्युत प्रसारण आयोजना निर्माणकै लागि बुटवल सबस्टेशनदेखि दमौली सबस्टेशन खण्डमा पर्ने पाल्पामा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु भइसकेको छ ।

एमसीसी परियोजनाअन्तर्गत अमेरिका सरकारको अनुदानमा रातमाटे–लप्सीफेदी–हेटौंडा–नयाँ दमौली–नयाँ बुटवल खण्डमा प्रसारणलाइन निर्माण गर्न लागिएको हो । यसअन्तर्गत भारतीय सीमादेखि न्यु बुटवल, न्यु बुटवल–न्यु दमौली, न्यु दमौली–रातमाटे (नुवाकोट), रातमाटे–हेटौंडा र रातमाटे–लप्सीफेदी (काठमाडौं) प्रसारण खण्ड निर्माण गरिनेछ ।

यो प्रसारण लाइनको क्षमता ४०० केभी हुनेछ । त्यस्तै, रातमाटे, दमौली र बुटवलमा तीनवटा ४०० केभीका ठूला सबस्टेसनहरू निर्माण हुनेछन् । प्रसारण लाइनअन्तर्गतका आयोजनामा करिब ४० करोड डलर खर्च गरिनेछ ।

एमसीसी अन्तर्गत नै सडक सुधार योजना पनि सञ्चालन हुनेछ । यसअन्तर्गत दाङको भालुबाङदेखि बाँकेको सीमा शिव खोलासम्म ७७ किलोमिटर सडक सुधार गर्ने योजना छ ।