एमालेका नेताहरुको जिम्मेवारी हेरफेरदेखि पार्टीबाट निस्कासनसम्म
काठमाडौँ । नेकपा एमालेले पार्टीका केही नेताहको जिम्मेवारी हेरफेर गरेको छ । केहि नेताहरुलाई पार्टीबाट निस्काशन गरेको छ । केहिलाई विदा दिएको छ ।
एमालेले उपमहासचिव पृथ्वी सुब्बा प्रमुख रहेको संसदीय विभागमा सदस्यहरु मनोनयन गरेर १६ सदस्य पुगाएको छ ।
त्यस्तै एमालेले विभागीय सचिवको जिम्मेवारीबाट डा. दीपकप्रकाश भट्ट,सोभियत ढकाललाई भूगोलमा पठाएको छ । काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार तथा केन्द्रीय कमिटी सदस्य केशव स्थापितलाई पार्टीबाट निस्काशन गरेको छ । अर्का केन्द्रीय सदस्य प्रमोदनारायण यादवलाई पनि निस्काशन गरेको छ ।
नेता गुरुप्रसाद बराललाई बागमती प्रदेशको रिक्त इन्चार्जको जिम्मेवारी दिएको छ । विद्यासुन्दर शाक्यलाई तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इन्चार्ज बनाएको छ । माओवादीबाट एमालेमा नै रहेका कर्णाली प्रदेश कमिटीका सचिव कमल शाहीलाई जिम्मेवारीबाट हटाएको छ । शाहीको ठाउँमा टेकराज पछाईलाई जिम्मेवारी दिएको छ ।
एमालेमा प्रदेश अधिवेशनमा उम्मेदवार बन्न पाँच सय शुल्क तोकेको छ । एमालेका ७ वटै प्रदेशमा अधिवेशन हुदै छ । अधिवेशनमा उम्मेदवार बन्नलाई पाँच सय शुल्क लाग्ने छ भने अध्यक्ष र सचिव हुन जननिर्वाचितहरुले पाउने छैनन् । पार्टीको पालिका, जिल्ला र प्रदेशको अध्यक्ष र सचिव हुनलाई पालिका, प्रदेश ,प्रतिनिधि सभा र राष्टिय सभाको सदस्य नभएको हुनु पर्ने व्यवस्था गरेको छ ।
त्यसैगरी एमालेले सामाजिक सञ्जालमा अनधिकृत र अज्ञात व्यक्तिहरुबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग बढ्दा भ्रम सिर्जना भएको भन्दै त्यसलाई नियन्त्रण गर्ने नीति लिएको छ । एमालेले सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गर्ने पहलका लागि केन्द्रीय प्रचार तथा प्रकाशन विभागलाई जिम्मा दिएको छ ।
एमालेले गत निर्वाचनका बागी भई कारबाहीमा परेर पनि आत्मालोचना गरी सदस्यता नवीकरण गर्न चाहनेहरुको पार्टी सदस्यता नवीकरण गर्न दिने भएको छ ।
पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीसँगै पार्टी अध्यक्ष केपी शर्मा ओलीबाहेक अरु नेताको फोटो नराख्न अपानी मार्फत निर्देशन दिएको छ ।
एमालेबाट विदा पाउनेमा अजय क्रान्ति शाक्य ,काठमाडौं, जुनेली श्रेष्ठ ,मकवानपुर,पार्वती रावल, चितवन र पुरनसिंह दयाल बैतडी रहेका छन् । त्यस्तै लामो समयदेखि पार्टीको काममा संलग्न नहुनुभएका अन्य केही कमरेडहरुको हकमा अवस्था र कारण बुझेर आगामी बैठकमा आवश्यक निर्णय लिने भनिएको छ । जसमा स्थायी कमिटी सदस्य मणी थापा रहेको बताइन्छ । उनी पछिल्लो समयमा पार्टी काममा सक्रिय छैनन् ।
प्रतिक्रिया दिनुहोस्: