Bagmati Samachar Logo

माओवादीले संघीय मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउदै

काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने भएको छ । सरकारमा जनमत पार्टीलाई सहभागी गराउने भएकाले उनलाई फिर्ता बोलाउन लागेको बालुवाटार स्रोतले बताए ।
बाालुवाटार स्रोतका अनुसार जनमतलाई सकारमा सहभागी गराउने भएकाले माओवादीबाट मन्त्री छोड्नु पर्ने हुन्छ । त्यसको लागि अहिले अमनलाल मोदीलाई फिर्ता बोलाउने तयारी भएको जानकारी दिए । स्रोतले भने,‘गठबन्धनको सरकार हो । जनमत पहिला पनि सरकारमा थियो । त्यसपछि बारियो । अहिले सरकारमा सामेल हुने भएको छ । त्यसको लागि प्रधानमन्त्रीले नै पहल गर्नु पर्ने भएकाले माओवादीको मन्त्री फिर्ता बोलाउने भन्ने भएको छ । त्यसको लागि उपयुक्त पात्र मोदी नै हुने देखिन्छन् ।’
जनमतबाट अनितादेवी मन्त्री हुने संभावना रहेको बताइन्छ । यदि कुरा मिलेमा एक दुई दिनमा नै जनमत सरकारमा सामेल हुने भएको छ । त्यसको लागि सबै भन्दा पहिला माओवादीले आफ्नो भागमा परेको मन्त्रालय दिनु पर्ने हुन्छ । जसको लागि आफ्नो पार्टीको मन्त्री फिर्ता बोलाउने तयारी गरेको छ ।
माओवादी स्रोतका अनुसार मोदीले जुन स्प्रिटमा काम गर्नु पर्ने थियो त्यो नसक्दा पनि फिर्ता बोलाउने मन्त्रीको सूचिमा परेको बताउछन् । ‘युवा मन्त्री भएर पनि मन्त्रालयमा नितिगत रुपमा पनि कुनै परिवर्तन ल्याउन सक्नु भएन । न त कुनै देख्ने गरि राम्रो काम गर्न सक्नु भयो,’स्रोतले भन्यो,‘पार्टीले युवाहरुलाई जुन भरोसा गरेर सरकारमा पठाएको थियो । त्यो अपेक्षा पुरा गर्न सक्नु भएन । त्यहि भएर पनि फिर्ता बोलाउने पहिलो चरणमा नै उहाँ पर्नु भयो ।’
पहिलो संविधानसभामा माओवादी मुलुकको पहिलो पार्टी थियो । ठूलो जनलहर माओवादीको पक्षमा उभिएको थियो त्यतिबेला । तर, पहिलो संविधानसभाले संविधान दिन सकेन । दोस्रो संविधानसभाको चुनाव गर्नुपर्ने स्थिति भयो ।

पहिलो संविधानसभामा पहिलो रहेको माओवादी २०७० सालको दोस्रो संविधानसभामा आउँदा तेस्रो पार्टीका रूपमा खुम्चियो । माओवादीको प्रत्यक्षमा मात्र हैन, समानुपातिकमा समेत मत खुम्चिएको थियो । तर, लो प्रोफाइलमा रहेका अमनलाल मोदी (थारु) लाई माओवादीले भने पत्यायो । समानुपातिक सभासद बनायो ।
पहिलोपटक समानुपातिक संसद्का रूपमा २८ वर्षमो उमेरमा सांसद छिरेका थिए, मोदी ।
२०५६ सालबाट माओवादीसँग जोडिएका अमनलालले सुरुमा अखिल क्रान्तिकारीको राजनीति गरे । कक्षा ९ मा पढ्दै गर्दा माओवादीनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको सदस्य बनेका उनी महेन्द्र मोरङ क्याम्पसमा अध्ययन गर्दागर्दै राजनीतिमा सक्रिय भएका थिए ।
युवा अवस्थामा समानुपातिक सांसद बनेका मोदी २०७४ मा भने प्रत्यक्ष निर्वाचनमा भाग लिए । कांग्रेस नेता महेश आचार्यलाई उनले पराजित गरे ।
वाम गठबन्धनबाट मोरङ ४ का उम्मेदवार बनेका मोदी कांग्रेसका आचार्यलाई पराजित गर्दै दोस्रो पटक संसद छिरेका थिए । कांग्रेसका आचार्यले २६ हजार ८ सय मत ल्याउँदा मोदीले ३३ हजार ५२९ मत ल्याएर निर्वाचित भएका थिए ।
२०७९ को निर्वाचनमा मोदीले एमालेका विनोद ढकाललाई पराजित गरे । एमालेका ढकालले २४ हजार ४६३ मत ल्याउँदा मोदी ३० हजार ६१२ मत ल्याएर निर्वाचित भएका थिए । मोदी तेस्रोपटक सांसद बन्दा पहिलोपटक मन्त्री बनेका थिए ।