Bagmati Samachar Logo

माओवादी बैठक : दोस्रो तहका नेता हाबी हुदा विप्लवसंगको पार्टी एकताबारे प्रसंग नै उठेन

राजनीतिक ब्युरो
काठमाडौं । नेकपा माओवादीको केन्द्रीय समिति बैठक पाँच दिनसम्म चल्यो । बैठकमा पूर्वमाओवादीबीच एकताको कुनै चर्चा सम्म भएन ।

जब कि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिन दिनै भन्ने शब्द हो पूर्वमाओवादीहरुबीच छिटै एकता हुन्छ । तर आफ्नो पार्टीको पाँच दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा एकताको कुरा न प्रचण्डले उठाए न त अरु कुनै पदाधिकारीले ।

बैठकको पहिला दिन नै प्रचण्डको तिब्र आलोचना सुरु भयो । प्रचण्ड बैठको पहिले दिनबाट नै रक्षात्मक बन्नु पर्यो । केन्द्रीय सदस्यले नै उनी र उनको सचिवालयको तिब्र आलोचना गरे ।

बैठक आफू र आफ्नो सचिवालयमा केन्द्रीत हुन थालेपछि प्रचण्ड त्यसको प्रतिवाद केन्द्रीय सदस्यबाट नै गराउने रणनीतिमा लागे ।

बैठक एकताको चर्चा होला भन्ने अधिकाशं केन्द्रीय सदस्यहरुलाई लागेको थियो । तर बैठक अध्यक्ष प्रचण्ड, उनको सचिवालय र पदाधिकारी केन्द्रीत हुदा एकता हुनु पर्छ भनेर एक दुई जनाले बैठकमा कुरा गरेपनि पार्टी बैठकमा एजेण्डा बन्न नसकेको एक केन्द्रीय सदस्यले बताए । ती सदस्यले भने,‘माओवादीको केन्द्र, विप्लव नेतृत्वको नेकपा र बाबुराम नेतृत्वको नेसपासंग एकता हुने कुरै छैन । जुन कुरा हुदै छैन त्यो कुराको किन चर्चा हुनु थियो र रु माओवादी छोडेर गयो । फेरि पद बढुवा गरेर ल्यायो । यहाँ भएका माओवादी असन्तुष्ट हुने । अब माओवादी पदको बाग्रेनिङ गरेर एकता नगर्ने बिन्दुमा पुगेको बुझियो । अध्यक्षले भने मिलेसम्म एमालेसंगै एकता गर्ने हो । माओवादीमा आउनेलाई ल्याउने हो । तर विचार र सिद्धान्त मिलेमा एकता हुन्छ ।’

जब कि बैठकमा वाइसियलका अध्यक्ष सुवोध शेपार्लीले विप्वलसंग र बाबुरामसंग एकता गर्नु पर्ने धारणा राखेका थिए । तर उनी जस्तै एक दुई जनाले मात्र बैठकमा एकताको कुरा उठाएका थिए ।

२०७९ साल २३ पुस माओवादीले कृष्ण बहादुर महराको नेतृत्वमा विभिन्न कम्युनिस्ट पार्टीहरूसँग एकताको पहल गर्न कार्यदल गठन गरेको थियो । महरा नेतृत्वको कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिवहरू जर्नादन शर्मा, शक्ति बस्नेत र गिरिराजमणि पोखरेल सदस्य थिए । कार्यदल बनेपछि महराले विभिन्न चरणमा भट्टराई र विप्लवसंग पटक पटक छलफल गरेका थिए । जसको कारण विप्लव माओवादी लगायतको मोर्चामा सामेल भएका थिए ।

असार ४ गते निमार्ण भएको मोर्चामा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी,जनता समाजवादी र नेकपा सामेल छन् ।

माओवादीबाट नै विभाजन भएर गएका घटकसंग छिटो भन्दा छिटो एकता गर्ने योजना बनाएको माओवादी केन्द्र बैठकसम्म आइपुग्दा एक कदम पछाडि हटेको माओवादीका एक केन्द्रीय सदस्य बताउछन् । ती केन्द्रीय सदस्यले भने,‘पहिला पार्टी बनाउनु पर्छ । माओवादी घटकसंग एकता हुने पनि विचारको आधारमा हो । माओवादी संशोधनवादी भयो । संसदीय भासमा फस्या भनेर पार्टी फुटाएर जानु भएको हो । हामी अहिलेपनि संसदीय राजनीतिमा छ । उहाँहरुले पहिला संसदीय राजनीति नै अहिलेको आवश्यकता हो । हामीले गल्ती गरेछौ भन्नु पर्छ । पद बाड्नलाई मात्र एकता गर्नु हुन्न भन्ने माओवादीमा बहुमत छ । अहिले नै एकता हुदैन ।’

नेसपाका अध्यक्ष भट्टराईले पार्टीको नाम परिवर्तन गरेर समाजवादी पार्टी राख्ने लगायतको सर्त सहितको पत्र सार्वजनिक गरेका थिए । तर माओवादी बैठकमा त्यसबारे पनि छलफल भएन ।

निर्माणबारे पत्र पठाएका थिए । विप्लव नेतृत्वको नेकपाले पनि माओवादीको केन्द्रीय समिति बैठकबाट पार्टी एकता सम्बन्धमा ठोस निर्णय आउने विश्वास लिएको थियो । तर, पार्टी एकताको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिवेदनमा उल्लेख गरेका थिएनन् । पार्टी एकता हुने कुरा विप्लव नेतृत्वको नेकपाले तत्काल नगरेको सन्तोष बुढामगर बताउछन् । उनलेल भने,‘हामी र माओवादीबीच पार्टी एकता हुन कि माओवादीले यो व्यवस्थाको विकल्प समाजवादी व्यवस्था हो भनेर बाहिर आउनु पर्यो कि हामीले संसदीय व्यवस्था ठिक हो । हामीले पार्टी विभाजन गरेर गल्ती गर्यौ भनेर भन्नु पर्यो । नत्र तत्काल पार्टी एकता हुन संभव छैन । पार्टी एकता गर्ने गरि छलफल नै भएको छैन ।’

माओवादी र नेकपाबीच एकता हुने भनिएको कुरा तथ्यमा आधारित नभएको बुढामगर बताउछन् । पार्टी एकता हुन लामो कोर्ष चाहिन्छ । माओवादीले लिएको बाटो ठिक छैन भनेर हामीहरु बाहिरीएका हौं । अहिले पनि दुबै पार्टी आआफ्नो दाबीमा यथावत छौ । अनि तत्काल पार्टी एकता कसरी हुन्छ रु हुदैन । दुइ पार्टीबीच यसबारेमा अहिलेसम्म कुनै कुरा भएको छैन ।बाहिर आएको हल्ला मात्र भएको बुढामगरले बताए ।

माओवादीको बैठकमा पनि एकताप्रति खासै चासो देखिएको थिएन । एकताको ठोस कुरा हुनु भन्दा पहिला नै प्रचण्ड र महराले विप्लवलाई महासचिव बनाउने गरी पार्टी एकता गर्ने भन्ने कुरा माओवादी केन्द्रमा प्रवेश गर्यो । जसले जिल्लादेखि केन्द्रसम्म नेताहरु तरंगीत भए । त्यसपछि सबै भन्दा पहिला माओवादीमा एक आपसमा नमिलेका पुन र शर्मा मिले । जसको असर केन्द्र, प्रदेश हुदै जिल्ला सम्म पुग्यो । दुबै नेता लामो समय नमिलेको र पछिल्लो समयमा मिलेको पुनले बैठकमा नै स्वीकार गरे । उनले भने,‘जनार्दन जी र म धेरै मिलेका थिएनौ । तर पछिल्लो समयमा हामी दुइ मिल्दा पार्टी बन्छ भने मिलेर जाऔं भनेर मिलेका छौ । झगडा गर्नु पो गलत हो । मिल्नु ठिक हो हामी मिलेका छौ ।’

सधै प्रतिस्पर्धी पुन र शर्मा मिल्नुमा विप्लवको योगदान रहेको माओवादी नेताहरु बताउछन् । चीनबाट उपचार गराएर फर्केपछि पुन र शर्माबीच ललितपुरतिर बाक्लो भेटघाट भए । शर्माले संगठन विभागको प्रशिक्षा दिदा संगठनमा देखिएका समस्याका बारेमा लेखेको दस्तावेज दुबै नेताले अध्ययन गरे । पुनले विप्लवलाई भन्दा शर्मालाई महासचिव बनाउदा पार्टी ठिक ठाउँमा हुने भन्दै आन्तरिक रुपमा बहस छलफल चलाए ।

अहिले पुन र शर्मा मिल्दा महराको योजना किनारामा परेको माओवादीका एक केन्द्रीय सदस्यले बताए । ती नेताले भने,‘महराको योजना फेल भएको छ । उहाँले माओवादीमा भएका नेताहरुलाई बाइपास गरेर विप्लवलाई महासचिव बनाउने योजना बनाउनु भएको थियो । अहिले त्यो अवस्था टरेको छ । प्रचण्ड नै त्यो बाट एक कदम पछाडि हट्नु भएको देखियो ।’

पुन र शर्माको मनोभाव बुझेर विप्लवसंगको एकताको चर्चा प्रचण्डले बैठकमा गरेनन् । उता भट्टराईसंगको एकताको कुरा पनि बैठकमा उठेन । भट्टराईसंग एकता हुदा पुन र शर्मालाई बल पुग्ने बुझेका प्रचण्डले बैठकमा किरण, भट्टराई र विप्लवको आलोचना गरेको एक केन्द्रीय सदस्यले बताए । ती सदस्यले प्रचण्डको भनाइ भन्दै भने,‘ विचार, राजनीति, सिद्धान्त प्रमुख हो । मान्छे ल्याएर मात्र हुँदैन । पद दिएर कमिटी भाग लगाएर गरिने एकता एकताजस्तो हुँदैन । किरणजी, बाबुरामजी र विप्लवजी फरक गर्छु भनेर जानुभयो सक्नुभएन । उहाँहरू सबै असफल हुनुभयो । तत्काल पार्टी बनाउने हो, पद बाँडेर गरिने एकता होइन ।’

विप्लवसंगको एकताको प्रसंग नउठेपछि बाबुरामसंगको एकता पनि प्रचण्डले चासो दिएनन् ।

बाहिर उपेन्द्र देखाए पनि भित्र–भित्र प्रचण्डलाई धोबीघाट बैठको डरले सताएको माओवादीका नेताहरू बताउँछन् । एक माओवादी नेताका अनुसार संगठनमा राम्रो पकड भएका पुन र शर्मासँग निहुँ खोज्दा बाबुरामलाई साथ दिएमा पुनः अर्को धोबीघाट बैठक हुन सक्ने डरले बाबुरामसँग तत्काल एकता गर्न नचाहेको देखिन्छ ।

११ वर्षअघि माओवादीबाट विप्लव अलग भएका थिए भने बाबुराम २०७२ मा नयाँ संघीय संविधान जारी भएपछि पार्टीबाट अलग भएका थिए ।

बाबुराम र विप्लवलाई माओवादीमा ल्याउने विषयमा विवाद नभए पनि कार्यदिशा, कार्यविभाजन लगायत विषयमा एकमत छैनन् । बाबुरामसंग त्यति वैचारीक बहस गर्न नचाहेपनि माओवादीका दोस्रो तहका नेताहरु विप्लवले रोजेको बाटो ठिक नभएकाले आत्मआलोचना गर्नु पर्ने बताउन थालेका छन् । बाबुरामले माओवादीको चुनाव चिन्हमा चुनाव लडेकाले खासै विवाद छैन । विप्लवलाई भने सहज स्वीकार्न तयार छैनन माओवादीका दोस्रो तहका नेताहरु ।