Bagmati Samachar Logo

फोटो खिच्दा सचेत हुनु, चिनियाँ अनुहार भएका सबै कम्युनिस्ट हुँदैनन् : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना नेताहरुलाई फोटा खिच्दा ध्यान दिनु पर्ने बताएका छन् । चिनियाँ अनुहार भएका सबै कम्युनिस्ट नहुने भएकाले सम्बन्ध बनाउँदा होसियार हुनुपर्ने बताएका छन् । आज बिहान बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले नेताहरूलाई विभिन्न व्यक्तिहरूसँग सम्बन्ध बनाउँदा र भेटघाट गर्दा सचेत हुन सल्लाह दिएका छन् ।

‘चिनियाँ अनुहार भएका सबै कम्युनिस्ट हुँदैनन् । हामी सबै कम्युनिस्ट हुन् भन्ने सोच्छौँ । तर, उनीहरू सबै कम्युनिस्ट हुँदैनन् । विभिन्न खालका मानिस हुन्छन् । भेटघाट गर्दा सचेत हुनुपर्छ,’ प्रचण्डले बैठकमा भनेको भन्दै एक पदाधिकारीले भने, ‘साथीहरूले पनि भेटघाटमा सचेत हुनुपर्‍यो । अहिलेको फोटो आउँदैमा अनुसन्धान रोकिँदैन । जरोसम्म पुगिन्छ । ढुक्क हुनुहोस् ।’

हाल चर्चामा रहेको करिब १ सय किलो सुन तस्करी प्रकरणमा उपमहासचिव वर्षमान पुनसहित उनको परिवारको नाम जोडिएको छ । केही समयअघि मात्र भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको सुन तस्करहरूसँग सम्पर्क देखिएको थियो । जुन कुरा पार्टीभित्र मात्र होइन, मिडिया र आम रूपमा समेत चर्चाको विषय बनेको छ ।

यो कुरा आज माओवादी केन्द्रको पदाधिकारी बैठकमा पनि उठेको सचिव डिलाराम आचार्यले बताए । उनले भने, ‘अहिलेको चर्चाको विषय बनेको सुनकाण्डको कुरा हाम्रो पार्टीको पदाधिकारी बैठकमा पनि उठ्यो । सुरुमा नै वर्षमानजीले उठाउनुभयो । त्यसपछि सबै नेताहरूले यसबारेमा कुरा उठाउनुभयो ।’

पदाधिकारी बैठकमा पुनले सुनकाण्डको छानबिन हुनुपर्ने र त्यसका लागि विज्ञको नेतृत्वमा छानबिन समिति बनाउनुपर्ने धारणा राखेका थिए ।
छानबिन समिति बनाउन प्रस्ताव राख्दै पुनले भने, ‘यो छानबिन समितिमा विषयविज्ञहरूलाई राख्न सकिन्छ । विषयविज्ञलाई राख्न सकिएन वा विश्वास लागेन भने संसदीय समिति बनाउन सकिन्छ । संसदीय समिति वा उच्चस्तरीय न्यायिक समिति पनि बनाउन सकिन्छ । अनुसन्धानमा विज्ञ निकाय, न्यायिक वा संसदीय छानबिन समिति जे उपयुक्त हुन्छ, यो प्रकरणको छानबिन हुनैपर्छ ।’

माओवादी बैठकमा सुन प्रकरणमा मुछिएका दाबा छिरिङसँग फोटाहरू सार्वजनिक भएपछि यो विषयमा पार्टीभित्र र बाहिर प्रस्ट पार्नुपर्ने धारणा सबै पदाधिकारीले राखेका आचार्यले बताए । बैठकमा प्रधानमन्त्री प्रचण्डले ुफोटाहरूले अनुसन्धान प्रभावित हुँदैनु भन्दै जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेको आचार्यले बताए ।

माओवादी पदाधिकारी बैठकमा विधान अधिवेशन गर्नेबारेमा पनि छलफल भएको र उक्त प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ । यही साउन १७ गतेबाट माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै छ ।