जुम्लामा नुनको अभाव भन्दै अपमानजनक रुपमा चर्चा भयो : सांसद छिरिङ ल्हामु
काठमाडौं । सांसद छिरिङ ल्हामु लामा तामाङले जुम्लामा नुनको अभावको हल्ला चलाएर अपमान तरिकाले चर्चा गराएको भन्दै संसदमा आपत्ति जनाएकी छन् ।
जुम्लामा नुन वितरण गर्दा केहि समस्या आएको तर नुनको अभाव नरहेको उनले बताइन् । उनले संसदमा नुनको वास्तविक घटना के हो भनेर जान्न नखोज्ने बरु बजारको हल्लाको पछाडि लागेर घटनालाई तोडमोड गरेको बताइन् । उनले भनिन्, ‘जुम्लामा अन्य सुगम जिल्ला भन्दा प्रति केजी रु.२० मात्र बढी रहेको छ । हरेक परिवारले मासिक एक केजी नुन प्रयोग गर्ने गरेका छन् । अरु उपभोग्य वस्तु र औषधि अभाव रहेको छ । त्यसप्रति ध्यान जाओस । चाहिने वस्तुको अभावलाई न उठाएर नियमित ढुवानी भएको नुनको विषयलाई हल्ला गरेर भ्रम फैलाएको छ । यो हल्लाखोरको हल्ला हो । काम गरिरहेका साल्टट्रेडिङका कर्मचारीलाई हचुवाको भरमा सरुवा गरेर मनोबल गिराएको छ । जुन गलत छ ।’
संसदमा सुनको कुरा बढी चर्चामा आउदा पनि सांसद लामाले भने जुम्लामा केहि दिन पहिला नुनको अभाव रहेको भन्दै हल्ला चलाएको घटनाका बारेमा आफ्नो कुरा राखेकी छन् ।
उनले भनिन्, ‘जुम्लामा नुन अभाव छैन । नियमित वितरण भएको छ । तर यसलाई केहि सांसदले सामाजिक सञ्जालमा गलत तरिकाले उचालेर इमान्दारीसाथ काम गरिरहेका कर्मचारीमाथि नचाहिदो आरोप लगाएर सरुवा गर्ने काम दुःखद भएको छ । फैलाएको भ्रम नियोजित हो । जुम्लाको नाममा अपरिपक्क राजनीति गरेका छन् ।’
सस्तो लोकप्रियताको लागि कर्मचारीमाथि अन्याय भएको उनले बताइन् । उनले जुम्लाको घटनामाथि छानबिन हुनु पर्ने माग राखेकी छन् । जुम्लाको बदनाम गरेर राजनीति गर्नु दुःखद भएको उनको धारणा छ ।
केहि दिन पहिला जुम्लाका ७ वटा घरमा आगजनि भएको घटनाका दोषिलाई अहिलेसम्म पक्राउ गर्न नसकेको र समाजमा डर सृजना भएकाले छिटै घटनाको छानबीन गरी दोषिलाई कारवाहि गर्न माग गरेकी छन् ।
आधिकारीक व्यक्तिको कुरा नै नसुनेर सामाजिक सञ्जालमा हल्ला गरेको भरमा आफ्ना कर्मचारीको सरुवा गर्ने साल्टट्रेडिङका कार्यकारी प्रमुखमाथि पनि छानबिन हुनु पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिक्रिया दिनुहोस्: