आलोचना धेरै होला भनेको कम भयो : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभाति शेरबहादुर देउवाले जारी केन्द्रीय समिति बैठकमा आफ्नो कम आलोचना भएको बताएका छन् । देउवाले बैठकमा कम आलोचना गरेको भन्दै नेताहरूलाई धन्यवाद पनि दिएका छन् ।
जारी केन्द्रीय समिति बैठकको अन्तिम दिन देउवाले उक्त प्रतिक्रिया दिएका हुन् । ‘साथीहरू धेरै धेरै धन्यवाद राम्रो बोल्नुभयो । आलोचना होला भन्या कम भयो,’ देउवाले भने, ‘धन्यवाद दिन चाहान्छु । लाइभले जीवन्त संवाद भयो । कांग्रेसमा कोही भन्दा काही कम छैन भन्ने देखिन्छ ।’
देउवाले केन्द्रीय कार्यसमितिको अर्को बैठक २ असोजमा बस्ने गरी बोलाएका छन् । बैठक समापन गर्दै देउवाले २ असोजमा अर्को केन्द्रीय समिति बैठक राख्ने बताए ।
साउन २ गतेबाट बैठक सुरु भएको थियो भने १० गते सकियो । यो बैठक एक वर्षपछि बसेको थियो । बैठकमाा देउवाको आलोचना र प्रसंसा दुबै भएको थियो ।
बुधबार केन्द्रीय समितिको सातौं दिन। महामन्त्री विश्वप्रकाश शर्माले विभिन्न निर्णय अनुमोदनका लागि पेश गरे।
प्रस्तावित निर्णयमाथि पनि केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए। सभापति देउवाले पालैपालो केन्द्रीय सदस्यलाई छुटेका कुरा छन् भने छोटकरीमा राख्न समय दिएका थिए।
केन्द्रीय समिति बैठक पार्टीको फेसबुकबाट लाइभ गरेको प्रसंगमा सभापति देउवाले कांग्रेसका गतिविधि दुनियाँले हेर्न पाएको बताए।
‘वास्तवमा हामीले जीवन्त छलफल गर्यौं। कांग्रेसमा योग्य साथीहरू हुनुहुन्छ, यो कुरा दुनियाँलाई थाहा भयो, एकसेएक साथी छन्, कोहीभन्दा कोही कम छैन भन्ने देखियो,’ देउवाले भने।
सभापति देउवाले नीति अधिवेशन गर्न नसकिएको स्वीकारे। २०७८ मंसिरमा १४ औं महाधिवेशनबाट सभापतिमा देउवा निर्वाचित भए पनि नीति अधिवेशन पछि गर्ने भनिएको थियो।
६ महिनाभित्र नीति अधिवेशन गर्ने भने पनि १८ महिना हुँदासम्म मितिसमेत तय हुन सकेको थिएन।
यसबारे देउवाले भने, ‘ नीति अधिवेशन गर्ने भनेर हामीले निर्णय पनि गरेकै हो तर महासमिति बैठक गर्ने भइयो। नीति अधिवेशन ठूलो हुन्छ भन्ने भयो। महासमिति अलि सानो पनि छ। नीति अधिवेशन र महासमिति भन्या एकैजस्तो हो।’
उनले यसबारे पदाधिकारी र पूर्वपदाधिकारीलगायतसँग पनि आवश्यक छलफल गर्दै जाने प्रतिबद्धता जनाएका छन्।
महामन्त्री गगन थापाले बैठकमा पेश गरेको वार्षिक कार्ययोजना पारित भएसँगै सभापति देउवाले अब बस्ने केन्द्रीय समिति बैठकको मितिसमेत तोकेका छन्।
‘साथीहरू, अब त दुई महिनामा मिटिङ गर्नैपर्छ। अर्को बैठक, असोज २ गते बस्ने गरी यो बैठक सकिन्छ।’ कांग्रेस विधानमा पनि २ महिनाको अन्तरालमा केन्द्रीय समिति बैठक बस्नुपर्ने उल्लेख छ।
खाँणलाई निलम्बन गरिएन
साउन २ देखि १० गतेसम्म (बीचमा केही दिन रोकिएर) चलेको केन्द्रीय समिति बैठकमा बोलेका महामन्त्री गगन थापासहित केही नेताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्न माग गरेका थिए।
तर केन्द्रीय समिति बैठकले खाँणलाई निलम्बन गरेको छैन। यसबारे महामन्त्री थापाले लिखित फरक मत राखेका छन्।
बैठकका निर्णय सुनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले सुन प्रकरण लगायत बारेमा गहिरो अनुसन्धान गर्न सरकारलाई आग्रह गरिएको बताएका थिए।
‘सुशासन नेपाली कांग्रेसको पहिलो प्राथमिकता हो। सुशासन र भ्रष्टाचार सँगसँगै जान सक्दैन। भ्रष्टाचार, अनियमितता र बेथिती निर्मुल नगरी सुशासन आउँदैन। हामी यो विषयमा प्रष्ट छौं,’ निर्णय सुनाउँदै उनले भने, ‘यी गहन विषयलाई आत्मसाथ गरेर नेपाली कांग्रेसले नै २१ वर्ष पहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोग गठनमा भूमिका खेलेको थियो। भ्रष्टाचार जघन्य अपराध हो।’
सभापति देउवा पक्षले खाँणबारे अदालतको निर्णय कुर्नुपर्ने बताइरहेका छन्।
प्रतिक्रिया दिनुहोस्: