Bagmati Samachar Logo

बागमती प्रदेशको बजेट बहुमतले पारित

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०—०८१ को लागि ल्याएको बजेट बिहीबार प्रदेशसभा बैठकबाट बहुमतले पारित गरेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले र प्रतिपक्षी दल राप्रपाको सुरुवाती अवरोधका बाबजुद बागमती प्रदेशको बजेट बहुमतले पारित भएको हो । १ असारमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

प्रदेश सरकारले १२ असारदेखि बजेटमाथिको छलफल सुरु गरेको थियो । बजेटमाथि छलफल सुरु भएदेखि लगातार ३ दिनसम्मको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेको थियो ।

विपक्षीका योजना बजेटमा समेट्ने प्रतिबद्धतापछि १८ असारबाट बजेटमा छलफल सुरु भएको थियो ।

सांसदहरूको प्रश्नको जवाफ बिहीबार मुख्यमन्त्री जम्कट्टेल र मन्त्रीहरूले दिएका थिए । जवाफ दिने क्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बजेटमाथि असन्तुष्टि राखेका थिए । उनले शान्ति पार्कका लागि पठाइएको सूची बजेटमा नसमेटिएको दुःखेसो राखे ।

सत्ता पक्षका सांसदहरूले पनि बजेटमाथि असन्तुष्टि पोखेका थिए । मुख्यमन्त्री जम्कट्टेलले देशकै आर्थिक गतिविधि प्रतिकूल बन्दा बजेट खुम्चिन गएकोले सबैको योजना समेट्न नसकेको जानकारी गराएका थिए ।

प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले मुख्यमन्त्री, अर्थमन्त्री र भौतिकमन्त्रीको जिल्लामा बजेट थुपारेको, बजेटलाई जनमुखी नबनाइएको, प्रतिपक्ष दलहरूलाई निषेध गरिएको, जिल्लागत रुपमा समानुपातिक ढंगबाट बजेट विनियोजन नगरेकोलगायतका विषय उठाएर सदन अवरुद्ध गरेका थिए । विपक्षी दलको योजना बजेटमा समेट्ने बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नै निर्णय गरिसकेको छ ।

प्रदेशसभामा बजेट संशोधनको माग गर्दै ९ जना प्रदेशसभा सदस्यहरूले प्रस्ताव दर्ता गराएका थिए । संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै सभामुख भुवनकुमार पाठकले बजेट पारित भएको जानकारी गराए । पाठकले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको जानकारी गराएका छन् ।