Bagmati Samachar Logo

एउटा पार्टीको सदस्य अर्को पार्टीबाट निर्वाचनमा उम्मेदवार हुन नपाउने

काठमाडौं । निर्वाचन आयोगले कुनै एउटा राजनीतिक दलको सदस्य अर्को राजनीतिक दलबाट उम्मेदवार हुन नपाउने गरी विधेयक तयार पारेको छ । निर्वाचन आयोगले बनाएको ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा एउटा दलको सदस्य अर्को दलतबाट उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ ।

विधेयकको दफा ६७ को उपदफा ६ मा भनिएको छ, ‘कुनै राजनतिक दलको सदस्यरहेको व्यक्ति त्यस्तो दलको सदस्य पद त्याग नगरी अर्को राजनीतिक दलको तर्फबाट उम्मेदवार हुन सक्ने छैन ।’

यसअघिका निर्वाचनमा एउटा पार्टीका अध्यक्ष अर्को पार्टीको चुनाव चिह्न लिएर उम्मेदवार बनेका थिए । तर अहिले भने त्यो प्रावधान हटाएको छ ।

त्यसैगरी, सङ्घीय संसद, प्रदेशसभा वा स्थानीय तहको सदस्य पदमा उम्मेदवार भई पराजित भएको व्यक्ति त्यस्तो पदको कार्यकाल पूरा नभएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेदवार बन्न नसक्ने प्रावधान पनि विधेयकमा राखिएको छ । आफ्नो निर्वाचन क्षेत्रमा पराजित भएपछि अर्को क्षेत्रमा हुने उपनिर्वाचनमा भाग लिने क्रम बढेपछि आयोगले यो प्रावधान ल्याएको हो ।

दुईपटकभन्दा बढी समानुपातिक उम्मेदवार हुन नपाउने व्यवस्था पनि विधेयकमा ल्याइएको छ । विधेयकको दफा ६२ को २ मा भनिएको छ, ‘प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीबाट दुईपटक निर्वाचित भइसकेको व्यक्ति सोही निर्वाचन प्रणालीबमोजिम उम्मेदवार हुन सक्ने छैन ।’

स्थानीय तहको सदस्य पदमा बहाल रहेको व्यक्तिले पदबाट राजीनामा नदिई स्थानीय तहको कुनै पनि पदमा उम्मेदवार हुन नपाउने प्रावधान विधेयकमा ल्याइएको छ । निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने दायित्व भएको व्यक्तिले निर्धारित समयभित्र त्यस्तो विवरण नबुझाएमा त्यस्तो व्यक्ति छ वर्षसम्म निर्वाचनमा उम्मेदवार हुन नसक्ने प्रावधान पनि विधेयकमा राखिएको छ ।

यो विधेयक संसदले पास गरेपछि लागु हुन्छ । विधेयकमा भएका केहि बुँदामा दलहरुले असहमति जनाएका छन् ।