ललिता निवासको जग्गा हिनामिना काण्डमा थप तीन जना पक्राउ

काठमाडौं । ललितानिवासको सरकारी जग्गा हिनामिना काण्डमा थप तीन जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार काठमाडौं महानगरपालिका ५ का तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमानकुमार कार्की र नक्कली मोही बाबुराजा महर्जनलाई पक्राउ गरिएको एसएसपी दिनेश आचार्यले जानकारी दिए ।
ललितानिवासको जग्गा हिनामिना प्रकरणमा सीआईबीको टोलीले गत मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम, पूर्वकर्मचारी गोपाल कार्की, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई पक्राउ गरेको थियो । पक्राउ परेका सात जनामध्ये चार जना अहिले प्रहरी हिरासतमा छन् भने तीन जना अदालतको स्टे अर्डरका कारण छुटेका छन् ।
ललितानिवासको जग्गा हिनामिना प्रकरणमा सीआईबीले ४ सय ६ जनालाई थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट पक्राउ पुर्जी लिएको दाबी गरेको छ ।
पक्राउ पुर्जी जारी भएकामध्ये हालसम्म १७ जनाले भने ‘स्टे अर्डर’ लिएको खुलेको छ । पक्राउ पुर्जी जारी भएकामध्ये अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, भूमि सुधार मन्त्रालयका पूर्वसचिवद्वय छविराज पन्त र दिनेशहरि अधिकारी हाल सम्कर्पविहीन भएका छन् ।
प्रतिक्रिया दिनुहोस्: