११ बुँदे हेटौँडा घोषणापत्र जारी गर्दै सकियो प्रथम बागमती प्रदेश युवा सम्मेलन
हेटौंडा । ११ बुँदे हेटौँडा घोषणापत्र जारी गर्दै प्रथम बागमती प्रदेश युवा सम्मेलन आज (मंगलबार) सकिएको छ । दुर्इ दिनसम्म चलेको सम्मेलन ११ बुँदे घोषणा पत्र जारी गदै आज समापन भएको छ ।
११ बुँदे घोषणापत्र बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई हस्तान्तरण गरेका छन्। घोषणा पत्र युवाहरुका सुझाबलाई समेटेर तयार पारिएको छ । उक्त घोषणापत्र लागू गर्न पनि उनले प्रदेश सरकार समक्ष आग्रह गरेका छन् ।
कार्यक्रमको समापनका अवसरमा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले युवाहरुको सिप र क्षमतालाई प्रदेश सरकारले उच्च मुल्याङकन गर्ने प्रतिबद्धता जनाएका छन् । युवाहरु निरास नहुन आग्रह गर्दै उनले भने, ‘सिप सिकाएर रोजगारी दिनेगरी प्रदेश सरकारले काम गर्न लागेको छ । अब क्षमता अनुसारको रोजगारी दिनेगरी काम गर्ने योजना बनाउँदै छौं ।’
कार्यक्रममा बिभीन्न विधाका उत्कृष्ट पाँच जनालाई २५ हजार रुपैयाँ नगद सहित पुरस्कृत गरिएको छ ।
बागमती प्रदेशका युवालाई सक्षम र सशक्त बनाउँदै युवासँग सम्बन्धित पाँच विविध विषयमा आधारित भएर छलफल गरी ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
११ बुँदे हेटौंडा घोषणापत्र
१. युवालाई आयआर्जनसँग जोड्न बागमती प्रदेशका १३ जिल्लाका ११९ वटा पालिकाहरुमा सीप विकास तालिम केन्द्रहरुको स्थापना गरी रोजगारीका लागि युवालाई सक्षम बनाउन प्रदेश तथा संघीय सरकार समक्ष पैरवी गर्ने ।
२. युवाद्वारा उत्पादन गरिएका सामग्रीको बजार, उत्पादन, रोजगार, अन्य अवसर तथा युवासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुको जानकारी गराउने युवा बजारको अवधारणा विकास गरी कार्यान्वयन गर्ने ।
३. शैक्षिक कार्यक्रमहरु युवाको वृत्तिविकासमा प्रत्यक्ष परिवर्तन देखिने शैक्षिक पाठ्यक्रम निर्माण गर्न र इच्छा अनुसारको जीवनउपयोगी सीप सिकाउने र प्रत्यक्ष रुपमा आम्दानी हुने उमेर लक्षित सीप र काम भन्ने कार्यक्रमहरु निर्माण गर्ने ।
४. देशका शैक्षिक संस्थाहरुलाई उत्पादनसँग जोड्न र नागरिकमा उद्यम भावनाको बिजारोपण गर्ने उद्देश्यले बागमती प्रदेशका १३ जिल्लाका ११९ पालिकाहरुमा रहेका ७०३१ वटै सामुदायिक विद्यालयहरुमा एक शिक्षण संस्था एक उद्यम र उत्पादन को नाराका साथ कार्यक्रम सञ्चालन गर्न पहल गर्ने ।
५. प्रदेश युवा परिषद्ले सम्बन्धित मन्त्रालय मार्फत् जीवनउपयोगी सीप सिकाउने र प्रत्यक्ष रुपमा आम्दानी हुने उमेर लक्षित सीप र काम भन्ने नाराका साथ नीति तथा कार्यक्रम तर्जुमा गर्न पहल गर्ने ।
६. सहज र सहुलियत कर्जा, बजारको सुनिश्चितता र दिगो उद्यमशीलता तथा उत्पादनको निश्चितता हुने गरी सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरुमा परिमार्जन गर्दै युवा लक्षित व्यापारमैत्री उत्पादन लाई जोड दिन जोखिम हुने उद्यममा व्यावसायिक सुरक्षाको जोखिम लिन सक्ने वातावरण तयार गर्न पहलकदमी लिने ।
७. देशप्रतिको सम्मानभाव प्रकट गर्दै असल जिम्मेवार नागरिकको भावना विकास गर्ने अभिप्रायले कक्षा ११ र १२ को औपचारिक अध्ययन पश्चात् हरेक युवालाई अनिवार्यरुपमा युवाको रुची तथा विषयगत क्षेत्रमा न्युनतम ३ महिना स्वयम्सेवकका रुपमा कार्य गर्ने अवधारणालाई अवलम्बन गर्न नीतिगत निर्णय गरी अगाडि बढ्न पहल गर्ने ।
८. सरकारको नीति, कार्यक्रम र योजना निर्माणको प्रक्रियामा युवाको सहभागिता र विकास परियोजनाहरुमा प्रत्यक्ष संलग्नता सुनिश्चित गर्न योजना प्रक्रियालाई युवामैत्री बनाउन जोड दिने ।
९. सूचना प्रविधिको प्रभावकारी प्रयोग र उपायोगिताको र सुरक्षित इन्टरनेट र सामाजिक सञ्जाल प्रयोगका लागि युवा परिषद्को अगुवाइमा प्रदेशका सबै जिल्लामा सूचना प्रविधिको समुचित र उपयोगी प्रयोग केन्द्रित अभियान सञ्चालन गर्ने ।
१०. युवाको नवीनतम सोच र प्रयोगका साथै आविष्कार गरिएका प्रविधि, उत्पादन र विशेष खालको खोज, अनुसन्धानहरुमा राज्यको सहयोग र प्रवद्र्धनमा साझेदारी भई कार्य गर्न जोड दिने । उद्यमशीलता तथा व्यवसायमा युवालाई प्रेरित गर्ने गरी कानुनी प्रक्रियालाई सरलीकृत गर्ने ।
११. जलवायु परिवर्तन र वातावरण प्रदूषण लगायतका समस्याहरुको विषयमा छलफल पैरवी गरी वातावरण संरक्षणमा युवा सहभागिता बढाई अन्तर्राष्ट्रिय अभ्यास अवलम्बन गर्ने ।
प्रतिक्रिया दिनुहोस्: