Bagmati Samachar Logo

पशुपतिबाट निकालियो जलहरी, मन्दिर परिसरमा जोखिने

काठमाडौं । पशुपतिनाथ मन्दिरको जलहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जोख्ने भएको छ । जसका लागि जलहरी निकालिएको छ ।

मन्दिरबाट निकालिएको जलहरीलाई सेतो कपडाले छोपेर मन्दिर परिसरमा लगिएको छ । अब त्यहीँ जोखिनेछ ।

नापजाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले अस्थायी रुपमा सीसीटीभी क्यामरा जडान गरेको छ भने काठमाडौं महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोली, पशुपति क्षेत्र विकास कोष र पुजारीहरुलाई राखिएको छ ।

जलहरी बनाउन १०३ किलो सुन खरिद गरिए पनि ९३ किलोको मात्र जलहरी बनाइएको र १० किलोको रिङ बनाएको भनिए पनि त्यसको प्रमाण नभेटिएको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको थियो ।

चाँदीको जलहरी पुरानो भएपछि दुई वर्षअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले पशुपतिको मूर्तिमा सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।

तर जलहरी राख्ने सुन खरीद गर्दा अनियमितता भएको उजुरी परेपनि अख्तियारले यो विषयमा अनुसनधान अघि बढाएको थिएन । तर गत महिना प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल (राजन) ले पशुपतिमा सुनको भनेर चाँदीको जलहरी राखेको भन्दै एमाले अध्यक्ष ओलीलाई आरोपित गरेपछि यो विषय पुनः चर्चामा आएको थियो । दाहालको भनाइ तथ्यहीन भएको भन्दै संसदको रेकर्डबाट मेटाइए पनि अख्तियारले यो विषयमा अनुसन्धान अघि बढाएको हो ।

सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन किनेको थियो ।