भरतपुर महानगरको बजेट ६ अर्ब ३१ करोड

हेटौंडा । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट पेश गरेको छ।
आइतबार उपप्रमुख चित्रसेन अधिकारीले आन्तरिक आय १ अर्ब ७५ करोड, संघीय सरकार र प्रदेश सरकारबाट प्रापत अनुदान १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, राजश्व बाडफाँटबाट ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड, सडक बोर्ड नेपालबाट आउने ३ करोडको बजेट पेस गरेका हुन् ।
महानगरले चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी दिन बाँकी रहेका र क्रमागत एवम् बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्न १ अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ। अन्तर सरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब १० करोड रहने प्रक्षेपण गरिएको छ।
भरतपुर महनगरका २९ वटा वडाका लागि प्रत्येक वडालाई २ करोड ७५ लाखका दरले ७९ करोड ७५ लाख रकम विनियोजन गर्ने प्रस्ताव गरेको छ ।
‘मध्य नेपालको सुन्दर शहर समृद्ध र सुसंस्कृत भरतपुर महानगर’ भन्ने मूल नारा दिएको भरतपुरले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि उत्पादन, खानेपानी, दिगो पूर्वाधार विकास निर्माण तथा प्रभावकारी सेवा प्रवाहमार्फत् सुशासन कायम गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस्: