Swornakshar Logo

नेपालले अमेरिकालाई ६ विकेटले हरायो, सुपर सिक्समा पुग्ने सम्भावना बलियो

काठमाडौं । विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले अमेरिकालाई ६ विकेटले हराएको छ । २०८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ४३ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

नेपालका लागि भीम सार्कीले उत्कृष्ट ब्याटिङ गर्दै जित दिलाए । भीमले अविजित ७७ रन बनाए । उनले ११४ बलमा सात चौका र एक छक्का प्रहार गरे । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ३२ बलमा अविजित ३९ रन बनाए ।

यसअघि नेपालका कुशल भुर्तेल ३९, कप्तान रोहितकुमार पौडेल १६, कुशल मल्ल १३ र आसिफ शेख १२ रनमा आउट भए । पहिलो विकेट २५ रनमा गुमाएको नेपालका लागि कुशल र भीम सार्कीले दोस्रो विकेटका लागि ४९ रनको साझेदारी गरे । तेस्रो विकेटका लागि रोहितले भीमसँग ३८ रनको साझेदारी गरे । भीम र दीपेन्द्रले ७४ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए ।

यसअघि जिम्बाब्वेको तकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेटको क्षतिमा २०७ रन बनायो । अमेरिकाका लागि सातौँ नम्बरमा ब्याटिङ गर्न आएका शायन जहांगिरले शतकीय पारी खेले । उनले ७९ बलमा सय रन बनाए । १८ रन हुँदा चार विकेट गुमाएको अमेरिका एक समय सय रन पनि नकटाउने अवस्थामा थियो । शायन क्रिजमा टिकिरहे । उनकै उत्कृष्ट प्रदर्शनमा अमेरिकाले नेपाललाई प्रतिस्पर्धात्मक चुनौती दिएको हो ।

करण केसीले चार, गुल्सन झाले तीन, दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिँदा ललितनारायण राजवंशीले एक विकेट लिए । करणले टेभन टायलोरलाई चार, आरोन जोन्सलाई दुई, नोसथस केन्जिगेलाई एक र साइतेजा मुक्कामल्ललाई शून्यमा आउट गराए । गुल्सनले निसार्ग पटेललाई आठ, सौरभ नेत्रभाल्करलाई चार र कायल फिलिपलाई शून्यमा आउट गराए । दीपेन्द्रले गजानन्द सिंहलाई २६ र जेसी सिंहलाई १२ रनमा आउट गराए । त्यस्तै, ललितले सुशान्त मोदानीलाई ४२ रनमा बोल्ड आउट गराए ।

यो जितसँगै नेपालको विश्वकप छनोटको सुपर सिक्समा पुग्ने सम्भावना बलियो बनेको छ । अब नेपालले वेष्ट इन्डिज र नेदरल्यान्ड्समध्ये एक टिमलाई पराजित गरे विश्वकपको सुपर सिक्समा पुग्ने सम्भावना रहन्छ ।