Bagmati Samachar Logo

सरकार छोड्छौ तर भ्रष्टाचारीलाई बचाउदैनौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार भ्रष्टाचारीलाई कुनै पनि हालतमा नबचाउने प्रतिवबद्धता जनाएका छन् । प्रेस सेन्टर नेपालको ज्ञापनपत्र ग्रहण बुझ्ने क्रममा उनले उक्त कुरा बताएका हुन् ।

जनतालाई प्रत्यक्ष सेवा दिनेकुरा, विदेशमा गएका नेपालीहरुलाई सम्बोधन गर्ने कुरा, देशभित्र हिजोदेखि रहेका थुप्रै विकृति र विसंगति रोक्न भएका प्रयास, भारत भ्रमण गरिएका पहल र प्रयासले एउटा सकारात्मक स्थिति देखिन्छ । यसबाट प्रतिक्रियावादी प्रतिगामी शक्तिहरु अतालिएका छन् । उनले तिनीहरु एजेण्डाबिहिन बनेका र जनतामा नाङ्गिएको पनि बताएका छन्। प्रधानमन्त्रीले राम्रो काम गरेर मात्रै नभई राम्रो काम राम्रो हो भनेर जनता बुझाउने कुरा मुख्य भएको उल्लेख गरे ।

उनले भने, ‘सरकारको राम्रो कुराको विरोध गर्नेको सशक्त प्रतिवाद जरुरी छ । प्रधानमन्त्री प्रचण्डले वर्तमान अवस्था आफूहरु सजिलो बलियो बनेको स्थितिबाट भएको नभई अप्ठ्यारो, जटिलता र धेरैखालका घेराबन्दीका बीचबाट लिइएको पहल हो ।’

प्रेस सेन्टर नेपालले विभिन्न १४ बुँदामा देश, जनता र श्रमजीवि पत्रकारहरुले भोग्नु परेका समस्याका बारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । संगठनले संविधानले सुनिश्चित गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालगायत जनपक्षीय उपलब्धीहरु थप संस्थागत गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि परिवर्तनपक्षधर शक्तिहरुको एकता अपरिहार्य पनि भएको पत्रमा उल्लेख छ । प्रेस सेन्टरले संविधान र संविधानले प्रद्दत गरेका उपलब्धी रक्षाका लागि उभिएका शक्तिहरुबीचको एकता विगतका कमजोरीहरु सच्याउँदै आगामी दिनमा थप मजबुत बनाएर प्रतिगामी शक्तिलाई परास्त गर्ने गरी वर्तमान सरकारले सहकार्य गर्ने विश्वास गरेको छ ।