भुटानी शरणार्थी प्रकरणमा फरार रहेका टोपबहादुर रायमाझी काठमाडौंबाट पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका टोपबहादुर रायमाझी पक्राउ परेका छन् । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि एमाले सचिव रहेका रायमाझी केहि दिन देखि फरार रहेका थिए ।
आइतबार साँझ रायमाझी पक्राउ परेका हुन् । उनलाई काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार रायमाझी शनिबार काठमाडौं आएका थिए । उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ परेकाहरुले रायमाझी संलग्न रहेको वयान दिएपछि प्रहरीको आग्रहमा जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, खाँणका तत्कालिन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालिन सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १२ जना पक्राउ परिसकेका छन् ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौंले ४ दिन हिरासतमा राख्न आइतबार नै अनुमति दिएको छ ।
प्रतिक्रिया दिनुहोस्: