Bagmati Samachar Logo

पपुललिज्मले असन्तुष्टिलाई राम्रोसँग उपयोग गर्न सफल भयो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो निर्वाचनमा प्रियतावादी (’पपुलिष्ट) शक्ति असन्तुष्टिलाई एजेण्डाका रूपमा राम्रैसँग उपयोग गर्न सफल भएको निस्कर्ष निकालेका छन् ।
आजबाट सुुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको दस्तावेजमा उक्त कुरा उल्लेख गरेका छन् ।
उनले दस्तावेजमा लेखेका छन् , ‘पपुलिष्ट शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति विस्तार नयाँ र विवेचनीय परिघटनाका रूपमा रहेका छन् । खासगरी युवा मतदाताहरू, सहरी जनमत र प्रवासी नेपालीहरूका बीचमा ’पपुलिज्मले उल्लेख्य प्रभाव पार्नु र ती शक्तिहरूप्रति आकर्षण बढ्नुलाई गहन विश्लेषण गर्नु आवश्यक छ ।’

अहिलेको चिरम निराशा गठबन्धनमा रहेका दलहरूका कारण बढेको चरम आरोप लगाएका छन् । राजनीतिक विकृति, आर्थिक र व्यवसायिक क्षेत्रमा देखापरेका सङ्कट उत्पादन र रोजगारीका क्षेत्र साँघुरिद गरेको अवस्था एवं सुशासन तथा सेवा प्रवाहमा गम्भीर विचलनका कारण समाजमा निराशा बढेको छ , उनले भनेका छन् , ‘ २०६२÷६३ को परिवर्तन र नेपालको संविधान जारी भएपछि समाजमा देखापरेको आशा र उत्साहलाई यी गतिविधिहरूले ठूलो धक्का दिएका छन् ।’

पपुलिज्म को सीमा भनेको उसले मौजुदा समस्या र कमजोरीहरूलाई उजागर गर्न सक्छ प्रश्न खडा गर्न सक्छ र जनअसन्तुष्टीहरूलाई राम्रैसँग प्रयोग गर्न सक्छ, तर समाधानका विकल्प दिन सक्दैन नसक्ने उनको दस्तावेजमा छ ।

हाम्रो जस्तो समाजमा जनअसन्तुष्टीलाई उपयोग गर्न सजिलो छ तर सही दर्शन र विचारधारा नभएको, अर्थ राजनीतिक कार्यदिशा स्पष्ट नभएको र आफ्ना स्वार्थका लागि कहिले वाम त कहिले दक्षिणपन्थी धारका बीचमा डोलायमान रहने यस्तो शक्ति मुलुकको सही राजनीतिक विकल्प भने हुन नसक्ने बताएका छन् । उनले यस्तो शक्ति कहिलेकाँही सामाजिक अराजकता र स्थापित प्रणालीका विरुद्ध विभिन्न शक्तिकेन्द्रहरुबाट उपयोग हुने जोखिम हुनसक्ने उल्लेख गरेका छन् ।

यो प्रवृति रोक्नको लागि वर्गीय र अर्थ राजनीतिक आधार एवं भूमिकालाई मसिनो गरी केलाउँदै तदनुरूपको दृष्टिकोण निर्माण गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरेका छन् ।