Bagmati Samachar Logo

शरणार्थी प्रकरण सामान्य भ्रष्टाचारको केस मात्रै होइन, दोषी देखिएकालाई छाड्दैनौँ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शरणार्थी प्रकरणमा अनुसन्धानमा दोषी देखिएकाहरूलाई प्रहरीले नछाड्ने बताएका छन् ।

‘मैले प्रहरीलाई निर्देशन दिएको छु । त्यसको आधारमा प्रहरी निर्भिकतापूर्वक, निष्पक्ष ढंगले अनुसन्धानको प्रक्रिया अगाडि बढाउन र त्यसलाई निष्कर्षमा पुर्‍याउन लागिपरेको छ । जो अनुसन्धानले देखाउँछ, उनीहरुलाई प्रहरी प्रशासनले छोड्दैन ।’

यो प्रकरणलाई निष्कर्षमा पुर्‍याउन आफूहरू प्रतिबद्ध रहेको श्रेष्ठको बताए । ‘अनुसन्धानले माग गर्ने हदसम्म, अनुसन्धानले आधार तयार पार्ने हदसम्म विभिन्न व्यक्तिहरू थप अनुसन्धानको निम्ति तानिनुभएको छ । यसलाई निष्कर्षमा पुर्‍याउन हामी दृढ छौँ,’ श्रेष्ठले भने ।

बुधबार सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भएको छलफलपछि प्रतिक्रिया दिँदै श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।

‘केपी ओली र मबीच के सहमति भयो भने (केही दिनअघिको बालकोटमा भएको भेटमा) यो सामान्य भ्रष्टाचारको केस मात्रै होइन । ‘यो राष्ट्रको अपमान गर्ने, राष्ट्रको स्वाभिमान गिराउने, राष्ट्रघाती कुकर्म पनि हो,’ श्रेष्ठले भने, ‘त्यसकारणले यसका विरुद्ध अनुसन्धानको प्रक्रिया अगाडि बढाउनुपर्छ । र दोषि जोसुकै भए पनि कारबाही गर्नुपर्छ भन्नेमा सहमति भयो ।’

यो प्रकरणमा आफूले ओलीसँग सहयोग मागेको उल्लेख गर्दै श्रेष्ठले ओलीबाट सहयोग गर्ने बचन पाएको पनि बताए । ‘मैले त्यसमा सहयोगको माग गरेँ । आड, भरोसाको माग गरेँ । उहाँले म सहयोग गर्छु पूरै । निर्दोष नफस्ने गरी र दोषीलाई नछोड्ने गरी अगाडि बढ्नुस् भन्नुभयो,’ श्रेष्ठले भने ।