Bagmati Samachar Logo

एमालेको निर्णय : नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीलाई निलम्बन नगर्ने

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पक्राउ पुर्जी जारी भएको भएपनि नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन नगर्ने भएको छ । आज मंगलबार बसेको पदाधिकारी बैठकले सचिव रायमाझीलाई निलम्बन नगर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

तर एमालेले अहिले भइरहेको अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा रायमाझी र उनका छोरा सन्दीपको नाम मुछिएको छ । यो प्रकरणमा सन्दीप पक्राउ परिसकेका छन् आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार छन् ।

आसन्न केन्द्रीय कमिटी बैठकको एजेन्डाबारे छलफल गर्न मंगलबार एमाले सचिवालयको बैठक बसेको थियो । उक्त बैठकले रायमाझीले अनुसन्धान प्रक्रियामा सघाउ पुर्‍याउनुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमाले विधिको शासन मान्ने पार्टी भएकाले कानुनी रूपमा हुने अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निर्णय लिइएको जानकारी दिए ।

‘कानुन र विधिको शासन मान्ने पार्टी भएको हुनाले विधिपूर्वक कानुनपूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने हाम्रो निर्णय छ,’ गुरुङले भने ।