नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिक पक्राउ,सिफारिस दिनेको खोजी हुदै
काठमाडौं । नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपरधा अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिएका १० जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
भारतको उत्तर प्रदेश बलिया जिल्ला इब्राहिम पट्टी ग्राम इब्राइमपट्टी पञ्चायत भिमपूरा थाना बेल्थरा रोड स्थायी घर भएका उनीहरूले झुट्टा विवरण पेस गरी नेपालको सिराहा, बारा, पर्सा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए ।
उनीहरूलाई शनिबार काठमाडौंको शंखमुल, कलंकी, बागबजार, गंगबु, बानेश्वरलगायत क्षेत्रबाट पक्राउ गरिएको एसएसपी केसीले बताए । प्रहरीले भारतको बलिया उत्तर प्रदेशका ५५ वर्षीय भरत प्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीय ज्ञानमति देवी गुप्ता, ३९ वर्षीय गोपाल गुप्ता, ४४ वर्षीय रामसुन्दर गुप्ता, ४३ वर्षीय रामप्रवेश गुप्ता, ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेह लता गुप्ता, ४९ वर्षीया मीनादेवी गुप्ता र ५२ वर्षीय राजेश कुमार गुप्तालाई पक्राउ गरेको छ ।
नेपाली नागरिकता प्राप्त गरेपछि नेपालका विभिन्न स्थानमा घरजग्गा खरिद गरी व्यापार व्यवसायसमेत गरी बसेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूमाथि अनुसन्धान गरिएको र झुट्टा विवरण पेस गरेर सक्कलै नेपाली नागरिकता लिएको भेटिएको प्रहरीले जनाएको छ ।
‘नागरिकता सिफारिस दिने वडा र बनाउने जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूमाथि अनुसन्धान भइरहेको छ,’ उनले भने।
उनीहरूले कसरी नागरिकता लिएका थिए भन्ने अनुसन्धान गर्न बाँकी रहेको एसएसपी केसीले बताए।
अहिले मुख्यमुख्य व्यक्तिलाई मात्र प्रहरीले नियन्त्रणका लिएको छ। परिवारका अन्य सदस्यमाथि छानबिन भइरहेको उनले बताए।
‘अहिले दस जनालाई मात्र पक्राउ गरेका छौं। बाँकीको अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘पक्राउ परेका व्यक्तिलाई नागरिकता ऐन तथा लिखित सम्बन्धी कसुरमा आवश्यक कारवाही हुन्छ ।’
अहिले दुई वटा परिवारलाई प्रहरीले पक्राउ गरेको छ। पहिलो परिवार ५५ वर्षीय भरतप्रसाद गुप्ताको हो। उनी भारतीय नागरिक शिवशंकर गुप्ता र फूलमतीका छोरा हुन्।
भरतप्रसाद गुप्ताले सिराहा रामनगर मिर्यैया २ बस्ने भनी २०६३ साल चैत १७ गते नागरिकता लिए। उनले आफ्नो मात्र नभएर श्रीमती ज्ञानमती देवी गुप्ता र उनीहरूका दुई छोराको समेत नेपाली नागरिकता बनाइदिएका छन्।
ज्ञानमतीले २०६८ साल असार ९ गते नागरिकता लिएकी थिइन्। उनीहरूका छोराले २०७० सालमा लिएको प्रहरी अनुसन्धानमा खुलेको छ।
शिवशंकरका अर्का छोरा मोहन गुप्तासँग भारतीय नागरिकता छ। तर उनका छोरा रामसुन्दर गुप्ता, रामप्रवेश र छोरी प्रियंका गुप्ताको नेपाली नागरिकता छ। रामसुन्दरको पर्सा, रामप्रवेश र प्रियंकाको रूपन्देहीबाट २०६३ मा नागरिकता जारी भएको छ।
दोस्रो परिवार महेशप्रसाद गुप्ताको हो। उनी भारतमै छन्। तर उनका छोराबुहारी र छोरीको नेपाली नागरिकता छ। राजेशकुमार गुप्ता र उनकी श्रीमती मिनादेवीले बाराबाट २०६९ असार ११ गते नागरिकता लिएका प्रहरीले खुलाएको छ। उनीहरू कलंकीमा मिठाइ पसल सञ्चालन गर्दै आइरहेका थिए।
त्यस्तै महेश गुप्ताका अर्का छोरा भरत गुप्ताले बारा पिपरा गाउँपालिका ६ बाट २०६३ फागुन ७ गते नागरिकता लिएका छन्। उनकी श्रीमती स्नेहलता बारा निजगढ नगरपालिका ८ बाट २०६९ फागुन ९ गते नागरिकता बनाएकी छन्।
महेशकी छोरी विजयलताले २०६७ सालमा नेपाली नागरिकता बनाएकी थिइन्। उनी भने पक्राउ परेकी छैनन्। उनीसँगै उनका श्रीमान राजेशकुमार गुप्ताले समेत नेपाली नागरिकता बनाएका छन्। उनीहरूको छोराछोरीको नागरिकता अनुसन्धान भइरहेको एसएसपी केसीले बताए।
उनीहरूसँग नेपाली र भारतीय दुवै नागरिकता छ। पक्राउ परेका सबै व्यक्तिको सन् २०२१ देखि हालसम्म भारतीय मतदाता नामावलीमा विवरण रहेको पाइएको प्रहरीको भनाइ छ।
उनीहरूले नेपाली नागरिकता लिएको मात्र नभई यहीँ लामो समयदेखि व्यवसाय गर्दै आएको पाइएको छ। नेपालमा विभिन्न स्थानमा घरजग्गा खरिद गरी बस्दै आएको प्रहरीले जानकारी दिए।
यी व्यक्तिहरूको नाममा विभिन्न ठाउँमा सम्पत्ति पनि भएको खुलेको छ।
भरतप्रसाद गुप्तासँग काठमाडौं नगरपालिका ३१ मा एउटा ८ तले घर छ। त्योसँगै गोपाल गुप्ता, भरत गुप्ता, सुजितकुमार गुप्तासमेत चार जनाको नाममा काठमाडौं सौखेल ६ मा किता नम्बर २५ र ४७३ को क्षेत्रफल ६६६.६९ र १५८ वर्ग मिटर जग्गा रहेको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ।
त्यस्तै स्नेहलता गुप्ताको काठमाडौं महानगरपालिका वडा २४ मा किता नम्बर ४०८ को ९७.३६ वर्गमिटर क्षेत्रफलको जग्गा भेटिएको छ। ज्ञानमती देवी गुप्ताको नाममा काठमाडौं नगरपालिका वडा १० मा किता नम्बर १४० क्षेत्रफल ११७.२४ वर्गमिटर, कित्ता नम्बर ५२९ क्षेत्रफल १२।९५ वर्गमिटर गरी जम्मा १३०.१९ वर्गमिटर जग्गा रहेको पाइएको छ।
‘यी सबै सम्पत्ति सरकारको नाममा जानेछ,’एसएसपी केसीले भने।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूबाट मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, बसाइसराइ भएको प्रमाणपत्र, भारतीय नागरिक भएको सिफारिस पत्र, भारतीय सवारी चालक अनुमति पत्र, भारत सरकार आयकर विभागको कार्ड, भारतीय पासपोर्ट, भारतीय आधार कार्ड बरामद भएको छ।

प्रतिक्रिया दिनुहोस्: