Bagmati Samachar Logo

पत्रकारिताको नाममा भइरहेका विकृति नियन्त्रण गर्न आवश्यक

मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले पछिल्लो समय पत्रकारिताको नाममा डिजिटल मिडियामार्फत् भइरहेका विकृति नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् ।

मन्त्री श्रेष्ठले बुधबार विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै सो कुरा बताएका हुन् । उनले श्रमजीवी पत्रकारको क्षमता विकास गर्न सिप विकासका कार्यक्रम संचालनलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता जनाए ।

मिडिया हाउसलाई स्वतन्त्र र निश्पक्ष ढंगबाट सूचना समाचार प्रकाशन÷प्रशारणमा सहयोग पुर्याउने बागमती प्रदेश सरकारको नीति रहेको उल्लेख गर्दै पत्रकारहरुको भौतिक सुरक्षाप्रति पनि संवेदनशील र जिम्मेवार रहेको बताए ।

प्रेस स्वतन्त्रतासँग नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतासमेत जोडिएको भन्दै यसलाई मर्यादित बनाउने सन्दर्भमा बागमती प्रदेश सरकार सहकार्य गर्न तयार रहेको उनको भनाई छ ।

मुलुकमै पहिलो पटक बागमती प्रदेशले बनाएको प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ बमोजिम प्रेस रजिष्ट्रारको कार्यालय स्थापना गरी सञ्चार संस्था र पत्रकारको हित प्रवद्र्धन हुने गरी काम गरिरहेको उनले बताए ।

मन्त्रालयका सचिव धु्रव गैडाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारकर्मीहरुको जिज्ञासालाई प्रेस रजिष्ट्रार रेवती सापकोटाले सहजिकरण गरेका थिए ।