सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि निराको हत्या, यसरी लाग्यो हत्यारा पत्ता
काठमडौं । काठमाडौं कपनकी निरा आचार्यको उनकै पसलमा हत्या गरेर झापा पुगेका झापाकै विनोद विकलाई प्रहरीले आज सार्वजनिक गरेको छ । लुटन पुगेका विकको निराले प्रतिकार गर्ने क्रममा हत्या गरेको खुलेको छ । पक्राउ परेका विनोदले प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा निराले लगाएको सुनको सिक्री लुट्न खोज्दा प्रतिकार गर्न खोजेपछि हत्या गरेको बताएका छन् ।
विनोदले प्रहरीसँगको बयानमा भनेका छन्, ‘निराको पसलमा म सामान किन्ने निहुँमा छिरेको थिएँ । त्यही बेला गलाको सिक्री तान्न खोज्दा प्रतिकार गरेपछि हत्या गरेको हुँ ।’
यद्यपि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकारीले विनोदको बयानबाट प्रहरी सन्तुष्ट नरहेको बताए । उनलाई आजै झापाबाट काठमाडौं ल्याएको छ । उनको प्रारम्भिक बयानबाट लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिन्छ । तर, हामी थप अनुसन्धानपछि मात्रै सबै कुरा थाह लाग्ने प्रहरीले बताएको छ ।
घटनास्थलको विश्लेषण गरेका एक प्रहरी अधिकारीका अनुसार निराको एक हातमा दाँतले टोकेको गहिरो घाउसमेत थियो । प्रहरी स्रोतका अनुसार निराले लगाएको सुनको सिक्री विनोदले बालाजुको एक सुन पसलमा बिक्री गरेको खुलेको छ ।
७ वैशाखमा कपनस्थित सरस्वतीनगरको व्यस्त सडकमै ‘निरु किचेन’ पसलभित्रै बाग्लुङ बडिगाड गाउँपालिकाकी ३५ वर्षीया आचार्यको चक्कु प्रहारबाट बीभत्स हत्या भएको थियो । आचार्यको हत्या रहस्यमय बन्दै गएपछि सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण वज्राचार्यको नेतृत्वमा समिति नै बनाएर अनुसन्धान अघि बढेको थियो ।
त्यसअघि उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मी, उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठको नेतृत्वमा समेत छुट्टाछुट्टै अनुसन्धान समिति बनेका थिए ।
निराको हत्या गरेको पाँच दिनपछि उनी झापा पुगेको खुलेको छ । सेभेन स्टार बाउन्सर सर्भिसमार्फत विकले ठमेलका विभिन्न क्लबमा बाउन्सरको काम गर्ने गरेको खुलेको छ ।
प्रहरीलाई हत्यारा विकसम्म पुग्न हम्मेहम्मे नै परेको थियो । निरा हत्याबारेको अनुसन्धानबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत संसदमा जवाफ दिएका थिए ।
त्यसअघि उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ, उपत्यका अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मी र काठमाडौं प्रहरी परिसरको अनुसन्धान टोली घटनाको अनुसन्धानमा खटिएका थिए । प्रहरीले निरा हत्याबारे विभिन्न कोणबाट अनुसन्धान गरेको थियो ।
निराको ६ महिनायताको ट्राभल रेकर्डदेखि निरा र उनको श्रीमान्सँगको सम्बन्धबारे समेत प्रहरीले मिहिन ढंगले अनुसन्धान गरेको थियो । निराको हत्या गरिएको कपन क्षेत्रका विभिन्न टावरसँग सम्पर्क भएका मोबाइल नम्बरको बीटीएसहरूको विश्लेषण प्रहरीले गरेको थियो । तर, प्रहरीले भरपर्दो कुनै क्लु भने फेला पार्न सकेको थिएन ।
सीसी टीभीमा देखिएको त्यो शंकास्पद फुटेज
प्रहरीले निरा हत्याबारे विभिन्न कोणबाट अनुसन्धान गरे पनि भरपर्दो क्लु भने फेला पार्न सकेको थिएन । निराको पसलमा समेत सीसी टीभी जडान नगरिएको हुँदा घटना झन् रहस्यमय बन्दै गएको थियो ।
तर, अन्य माध्यमबाट हत्याको कुनै क्लु फेला पर्न नसकेपछि भने काठमाडौं प्रहरीको सादा पोशाकमा विशेष प्रहरी टोली कपन, गोपीकृष्ण हलदेखि चाबहिल सडक खण्डमा जडान भएका सीसी टीभी संकलनमा लाग्यो ।
परिसरको टोलीले ८ दिन लगाएर संकलन गरेको सीसी टीभी फुटेजमा एउटा शंकास्पद व्यक्ति देखा परे । ती व्यक्तिले मास्क लगाएका थिए । हत्या गर्न जाँदाको फुटेज फेला नपरे पनि उनी फर्किंदा भने कपन तेन्जिङ चोकबाट चाबहिलसम्म टेम्पो प्रयोग गरेर फर्किंएको दृश्व फेला पर्यो ।
त्यहाँबाट भने उनले काठमाडौं जुडीबुटी पुलसम्म राइड शेयर ‘अफ लाइन’ दुईवटा पठाओ मोटरसाइकल प्रयोग गरेर लोकन्थली पुगेका थिए । सीसीटीभी फुटेजअनुसार त्यसबाट पुनः अफलाइन नै प्रयोग गरेर उनी लोकन्थीस्थित साह थरका एक साथीको कोठामा पुगेका थिए ।
सोही सीसी टीभी फुटेजमार्फत देखिएको शंकास्पद व्यक्तिको विश्लेषणपछि प्रहरी झापाका विनोद विकसम्म पुग्न सफल भएको हो । पछिल्लो समय प्रहरीलाई झुक्याउन विकले मोबाइल नम्बरसमेत परिर्वन गरेका थिए ।
उनी लोकन्थली बस्ने गरेको खुलेको छ । प्रहरीका अनुसार घटना ७ वैशाख दिउँसो पौने ३ बजे भएको देखिएको छ । प्रहरीसँगको बयानमा उनले हत्या स्वीकार गरेका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट विकले लुट्ने उद्देश्यले नै निराको हत्या गरेको खुलेको छ । विकले हत्या गरेको चक्कु भने खोलामा फालेको बयान प्रहरीलाई दिएका छन् ।
हत्या गर्दा भाँडा पसलकै चक्कु प्रयोग गरेको आशंका प्रहरीको छ । प्रहरीले हत्या गर्दा लगाएको लुगा बरामद गरेको छ ।
लामो समयसम्म हत्यारा पत्ता नलागेपछि निराका आफन्तले प्रहरीलाई दबाब सिर्जना गर्न घटनास्थलमा धर्नासमेत दिन थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्: