Bagmati Samachar Logo

उपनिर्वाचनमा एमाले उम्मेदवार छायामा, माओवादी केन्द्रलाई हर्ष न बिस्मात

काठमाडौं । तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन सकिएको छ । तर, यो उपनिर्वाचनमा दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र ओझेलमा परेको देखियो । सत्ता गठबन्धनको नाममा माओवादी केन्द्रले उम्मेदवारी नै दिएन भने एमालेले उम्मेदवारी दिएर पनि अघिल्ला चुनावमा जस्तो माहोल बनाउन सकेन ।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले चितवन २ र तनहुँ १ मा कांग्रेस तथा बारा २ मा जसपाका उम्मेदवारलाई सघाएको छ । सत्ता गठबन्धनका दलहरूबीच भएको सहमति अनुसार माओवादीले उपनिर्वाचनमा उम्मेदवारी नदिएर गठबन्धन दलहरू कांग्रेस र जसपा नेपाललाई सघाएको हो । त्यसैले पनि उपनिर्वाचन माओवादी केन्द्रका लागि खास महत्वको हुन सकेन । माओवादीलाई यो उपनिर्वाचनमा न त मत जोगाउने चिन्ता रह्यो, न हारको ।

जनमतमा कमजोर हुँदै गएको माओवादीले आफ्नै नेता(कार्यकर्ताका कुरा नसुनेर यो उपनिर्वाचनमा अरु दलका लागि मैदान छोडिदिएको हो । हुन त, ४ मंसिरको चुनावमा पनि माओवादीले यी तीन क्षेत्रमध्ये बारा २ मा मात्रै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार उठाएको थियो । चितवन २ र तनहुँ १ भने कांग्रेसलाई नै छाडिदिएको थियो । यसपटक गत निर्वाचनमा एमालेसँग मिलेको जसपा सत्ता गठबन्धनमा सामेल भएपछि भने बारा २ पनि माओवादीले जसपाका लागि छाडिदिनुपर्ने अवस्था आइलाग्यो । तनहुँ १ मा माओवादीले उम्मेदवार उठाउनुपर्ने भन्दै जिल्ला र प्रदेशका नेताहरू काठमाडौं आएर नेतृत्वमाथि दबाब सिर्जना गरेका थिए । तर, माओवादीले तनहुँ १ मा कांग्रेसलाई नै सघाउने निर्णय लिएपछि माओवादी नेता(कार्यकर्ता निरास भएर जिल्ला फर्किएका थिए । त्यसैले माओवादीका लागि यो उपनिर्वाचन हर्ष न विष्मात बन्न पुग्यो ।

उम्मेदवारी दिएर पनि ओझेलमै एमाले

संसदको दोस्रो ठूलो दल एमालेले तीनवटै क्षेत्रमा उम्मेदवार उठाएको छ । तर एमाले उम्मेदवार मुख्य प्रतिस्पर्धामा नभएकाले ओझेलमै परे । एमालेले गत ४ मंसिरको जस्तो आक्रामक प्रचारशैली अपनाएन । विपक्षीप्रति आक्रामक रणनीति बनाउने एमालेका स्थानीय कार्यकर्तादेखि नेतृत्वसम्म यो उपनिर्वाचनमा शान्त प्नचारप्रसारमा देखिए ।

अध्यक्ष केपी शर्मा ओली बारा २ बाहेक अरु निर्वाचन क्षेत्रमा पुगेनन् । मिसन ग्रासरुढ अभियानका फिल्ड नेताहरू नै चुनावी कमाण्डर तोकिए । अध्यक्ष ओलीको अस्वस्थताको कारण देखाउँदै चितवन र तनहुँमा ठूला चुनावीसभा समेत भएनन् ।

त्यसो त, एमालेका लागि उपनिर्वाचन भएका तीनवटै क्षेत्र आशा गरिएका क्षेत्र होइनन् । ४ मंसिरको चुनावमा तनहुँ १ र चितवन २ मा पराजय भोगेको थियो भने बारा २ मा जसपालाई सघाएको थियो । मंसिरको निर्वाचनमा तनहुँमा निकटतम् प्रतिद्वन्द्वी रहे पनि चितवन २ मा एमाले तेस्रो भएको थियो । बारा २ मा जसपासँगको तालमेलका कारण उम्मेदवारी दिएको थिएन । एमालेको सहयोगमा जसपाका रामसहाय यादव निर्वाचित भएका थिए । उनी हाल उपराष्ट्रपति छन् ।

जसपा सत्ता गठबन्धनतिर लागेपछि बारा २ सहित तीनवटै क्षेत्रमा उपनिर्वाचनमा एमालेले उम्मेदवार बनायो । सबैभन्दा बढी चर्चामा रहेको चितवन २ मा ४ मंसिरमा कृष्णभक्त पोखरेलले टिकट पाएका थिए । उनले १४६५२ मत पाएका थिए । तर, सो क्षेत्रमा अहिले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनायो ।

तनहुँ १ मा सर्वेन्द्र खनाल एमालेका उम्मेदवार छन् । खनाल प्रहरीको नेतृत्वमा हुँदा जति चर्चामा थिए, त्योभन्दा बढी चर्चामा तत्कालीन संघीय समाजवादी पार्टीको विभाजनका लागि सांसद्लाई अपहरणको शैलीमा जर्बजस्ती जनकपुरबाट उठाएर काठमाडौं ल्याएकोभन्दै विवादमा परे । गत निर्वाचनमा काठमाडौं ६ मा उम्मेदवार रहेका उनलाई एमालेले दोहोर्‍याएर उम्मेदवार बनाएको हो । तनहुँ १ को उपनिर्वाचनमा रास्वपाका स्वर्णिम वाग्ले र कांग्रेसका गोविन्द भट्टराई मुख्य प्रतिस्पर्धामा देखिए पछि उनी ओझेलमा परे ।

एमालेले बारा २ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनायो । पूर्व खेलकुदमन्त्रीसमेत रहेका पौडेल एमालेभित्रको विवाद उत्कर्षमा पुग्दा माधव नेपाललाई साथ दिएका थिए । तर, एमाले विभाजन भएको एक महिनापछि उनले आफू एमालेमै रहने घोषणा गरेका थिए । गत निर्वाचनमा पार्टी उम्मेदवारभन्दा ज्यादा नेकपा एसका उम्मेदवार किसान श्रेष्ठलाई सघाएको बात लागेका पौडेल कुशल संगठक मानिन्छन् । तर, यसपटक उनी मुख्य प्रतिस्पर्धामा नदेखिएको विश्लेषण गरिएको छ । उनको प्रचारप्रसारमा पनि एमालेले त्यति महत्त्व नदिएको देखियो । चुनावी प्रचारप्रसारको अन्तिम दिन अध्यक्ष ओली बारा पुगेर पौडेलको पक्षमा माहोल बनाउन खोजेका थिए । तर, जनमत पार्टी र जसपाका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दुबैले यो चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवको हार वा जितले मधेश प्रदेश र संघीय सरकारको गठबन्धनसमेत प्रभावित हुनसक्ने भन्दै बारा २ को नतिजालाई व्यग्रताका साथ प्रतिक्षा गरिएको छ ।

बरू सत्ता गठबन्धनले यो उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधव नेपाल र डा बाबुराम भट्टराई गठबन्धनलाई जिताउन चुनावी सभामा व्यस्त रहे । डा भट्टराई तनहुँ र चितवनमा गठबन्धनकै उम्मेदवारका लागि भोट माग्न गए पनि उपेन्द्र यादवसँगको पुरानो टसलका कारण बारा २ मा भने मौन देखिएको छ ।

तनहुँ १ र चितवन २ मा गठबन्धनले जित्नुभन्दा रास्वपाले जितेमा एमालेले फाइदा देखेको छ । रवि र ओलीबीच अन्य दलका नेताकोभन्दा बढी निकटता देखिन्छ । त्यसैले पनि यो उपनिर्वाचनलाई ओलीले खासै महत्त्व नदिएको टिप्पणी गर्ने गरिन्छ । अध्यक्ष ओली यो उपनिर्वाचनपछि सत्ता गठबन्धनभित्र केही खटपट हुने देखेर पर्ख र हेरको रणनीतिमा बसेकाले पनि रास्वपाको जितको राजनीतिक अर्थ हुने एमालेले ठानेको छ ।