Bagmati Samachar Logo

प्रधानमन्त्री लगायत मन्त्रीहरुले काठमाडौँ–तराई मधेस फास्ट ट्र्याक अबलोकन

हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को निरीक्षण गरेका छन् । प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खडका, अर्थ मन्त्री प्रकाश शरण महत र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालासहितको टोलीले फास्ट ट्र्याकको निरीक्षण गरेको हो ।

सेनाको हेलिकप्टरबाट प्रधानमन्त्री लगायत टोली मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटार र बकैया गाउँपालिकाकाको लेनडाँडा तथा राजदमार गरी तीन स्थानबाट निरीक्षण गरेर काठमाडौँ फर्किएको हो ।

अनुगमन टोलीमा नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागी, विभिन्न मन्त्रालयका सचिव र प्रधानसेनापति प्रभुराम शर्मा, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’, प्रदेशका मुख्य सचिव मुकुन्द निरौला लगायतका सरकारी अधिकारीहरू पनि सहभागी थिए ।

फास्ट ट्र्याकको निरीक्षण गर्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौँ–निजगढ द्रुतमार्गको निर्माण कार्य द्रुतगतिले अगाडि बढिरहेको आफूले पाएको बताए ।

‘हामी निरीक्षणमा आएका छौँ । प्रत्यक्ष हेर्दा काम राम्रै भएको महसुस ग–यौँ । टनेलभित्र गएर पनि हे¥यौँ । ठुलो टनेलहरू बन्दै छन् । हिजो मात्र काठमाडौँमा ब्रिफिङ भएको थियो । कोभिडका कारण दुईढाइ वर्ष काम खेर गएको छ’, प्रधानमन्त्रीले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, ‘त्यसलाई मेन्टेन गर्न केही समस्या भएकै हो । अब द्रुतमार्ग अब द्रुतगतिमै निर्माण हुने प्रक्रियामा रहेको हामीले महसुस गरेका छौँ ।’

काठमाडौँबाट तराई मधेस जोड्ने फास्ट ट्र्याक अन्तर्गत ४ वटा खण्डको निर्माण कार्यका लागि ठेक्का आह्वान हुन सकेको छैन । कुल सडकलाई ११ वटा खण्डमा विभाजन गरी नेपाली सेनाले निर्माण कार्य अघि बढाए पनि हाल ७ वटा खण्डको काम भइरहेको छ । अन्य ४ खण्डको अझै ठेक्का आह्वान हुन सकेको छैन ।

फास्ट ट्र्याकको कुल ११ वटा खण्डमध्ये हाल मकवानपुर र बारा तर्फका ७ वटाको काम भइरहेको छ भने ललितपुर तर्फको ४ वटा खण्डको ठेक्का लगाउन बाँकी छ । हाल मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारबाट दक्षिण तर्फ बाराको निजगढसम्म १–७ नम्बर खण्डको ठेक्का लागेर काम भइरहेको छ भने ललितपुर र काठमाडौँ (उत्तर तर्फ)को ८–११ नम्बर खण्डको ठेक्का आह्वान हुन सकेको छैन ।

बाराको निजगढबाट सुरु भई मकवानपुर हुँदै ललितपुरबाट काठमाडौँ जोड्ने उक्त सडकको कुल लम्बाई ७२.५ किलोमिटर छ । काठमाडौँबाट तराई मधेस जोड्ने द्रुतमार्ग निर्माणको जिम्मा २०७४ सालमा तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकै सरकारले नेपाली सेनालाई दिएको थियो ।