Swornakshar Logo

पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन एपीएफ

काठमाडौं । प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।

एपीएफले पुलिसमाथि २५ –२०,१८–२५, २५–१६ र २५–२२ को सेटमा जित निकालेको हो ।

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको उपाधिसँगै एपीएफले ४ लाख नगद प्राप्त गरेको छ । उपविजेता पुलिसले २ लाखमा चित्त बुझाएको छ ।

प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा रह्यो । गण्डकी प्रदेशलाई ३(० को सेटमा हराएर आर्मीले तेस्रो स्थान हासिल गरेको हो ।

तेस्रो भएसँगै आर्मीले १ लाख र चौंथो भएको गण्डकीले ५० हजार प्राप्त गरेको छ ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा एपीएफका टेकराज अवस्थी सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले १५ हजार नगद पुरस्कार प्राप्त गरे ।

अन्य विधागततर्फ स्पाइकरमा आर्मीका धनबहादुर भट्ट, लिब्रोमा एपीएफका विनोद चन्द, सेटरमा एपीएफका लोकेन्द्र गिरी, ब्लकरमा एपीएफका सुनिल घर्ती मगर, सर्भरमा प्रहरीका इम राना मगर तथा प्रशिक्षकमा एपीएफका महेशप्रसाद चौधरी उत्कृष्ट चुनिए । उत्कृष्ट सबैले जनही १० हजार नगद पुरस्कार जिते ।

विजेतालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक प्रतिष्ठानका अध्यक्ष श्रीकृष्ण अधिकारी र महासचिव निर्मल आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

चैत २८ गतेदेखि सुरु लिग कम नकआउट प्रतियोगितामा ५ टिम सहभागी थिए ।