Swornakshar Logo

पोस्टबहादुर बोगटी स्मृति कप भलिबलको फाइनलमा एपीएफ र प्रहरी

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल प्रहरी क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा दुई सेटले पछि परेको स्थितिलाई उल्ट्याउदै एपीएफले अर्को विभागीय टोली नेपाल आर्मीलाई ३–२ ले पराजित गर्‍यो । लगातार दुई सेट आफ्नो पक्षमा पारेको आर्मीले २५–२३ र २५–१२ को प्रदर्शन गर्‍यो । एपीएफले तेस्रो सेट २५–२२ र चौथो सेट २५–२३ ले जित्दै खेललाई २–२ को बराबरीमा पुर्‍याएको थियो । पाँचौं तथा निर्णायक सेट १५–१० ले कब्जा गर्दै एपीएफले फाइनलमा स्थान सुनिश्चित गर्‍यो ।

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको दोश्रो सेमिफाइनलमा प्रहरीले गण्डकीलाई २५–२२, २५–२० र २५–२१ ले हराउदै एपीएफसंग उपाधि भिडन्त पक्का गर्‍यो । फाइनल शनिबार हुनेछ ।

विजेताले ४ लाख, उपविजेताले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् । सान्त्वना पुरस्कार स्वरुप ५० हजार रुपियाँ प्रदान गरिने छ । विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही १० हजार तथा सर्वोत्कृष्ट खेलाडीले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।