Bagmati Samachar Logo

वर्ष २०७९ : १४ वर्षपछि स्ववियु निर्वाचन

काठमाडौं । नेपालको राजनीतिक परिवर्तनको आन्दोलनसँग जोडिएको छ विद्यार्थी आन्दोलन पनि । कुनै समयमा राजनीतिक दल प्रतिबन्ध हुँदा विद्यार्थी संगठनले राजनीतिक परिवर्तनको आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्यो । राजनीतिक परिवर्तनसँगै यसको काम विद्यार्थी आन्दोलनमा केन्द्रित भयो । नेपालको राजनीतिक परिवर्तनमा शहीद हुनेदेखि राजनीतिक आन्दोलन उत्कर्षमा पुर्‍याउने काम विद्यार्थी संगठनले गरेका थिए ।

समय फेरियो । आन्दोलनको स्वरुप फेरियो । राजनीतिक दलहरू फेरिए र विद्यार्थी संगठनहरू पनि फेरिए ।

२०३६ र २०४६ सालको आन्दोलनमा उभार ल्याउन विद्यार्थीले जुन भूमिका निर्वाह गरे, उपलब्धिका निम्ति त्यो नै निर्णायक बन्न पुग्यो । २०६२र२०६३ सालका आन्दोलनमा मात्र होइन, २०५२ सालदेखि माओवादी जनयुद्धमा महत्त्वपूर्ण भूमिका थियो विद्यार्थी आन्दोलनको । सयौँ विद्यार्थीहरू शहीद भए । कैयौँ विद्यार्थीलाई राज्यले बेपत्ता बनायो भने कैयौँ अपाङ्ग–घाइते छन् ।

पछिल्लो समयमा विद्यार्थी आन्दोलनले आफ्नै ओज, महत्त्व र विश्वास गुमाएको छ ।

कुनै समय सत्तालाई हाँक दिने विद्यार्थी संगठनहरू अहिले आफैँले ल्याएको राजनीतिक परिवर्तन र विद्यार्थी आन्दोलनलाई सही ठाउँमा टिकाउन र अगाडि लैजान सकिरहेका छैनन् ।

ल्याएका जनताका हक अधिकार रक्षा गर्न सक्ने अवस्थामा छैनन् । शिक्षाको व्यापारीकरण भइरहँदा त्यसको फड्के किनाराको साक्षी बनिरहेको छ विद्यार्थी आन्दोलन । पद, पैसा र नातावादको गोलचक्करमा विद्यार्थी आन्दोलन फसेको छ । यसबाट बाहिर निकाल्नुभन्दा पनि व्यक्तिगत लाभहानिको सूची बनाएर विद्यार्थी संगठनहरू अहिले सक्रिय छन् ।

बादशाहलाई घोडाबाट ओराल्ने तागत भएको विद्यार्थी आन्दोलन अहिले आफैँले आफैँलाई खोज्नुपर्ने अवस्थामा पुगेको छ । राणा शासनको अन्त्यका लागि सक्रिय भएको विद्यार्थी आन्दोलन पञ्चायती व्यवस्थामा झन् निर्णायक शक्ति बन्यो । गणतन्त्रपछि विद्यार्थी आन्दोलन गुमनाम मात्र होइन, बदनाम पनि बनेको छ ।

विद्यार्थी संगठन निजी कलेज, स्कुलहरूको सहयात्री मात्र होइन, व्यापारको हिस्सेदार पनि बनेका छन् ।

त्यही भएर भन्न थालिएको छ– अहिले विद्यार्थी संगठनका नेताहरू नगदमा होइन, शेयरमा काम गर्छन् । विद्यार्थीको हकहितका लागि होइन, आफ्नो हकहितका लागि काम गरिरहेका छन् ।

विश्वविद्यालयका क्यालेन्डरतर्फ भन्दा पनि आफ्नो निजी जीवनको क्यालेन्डरतर्फ बढी ध्यान दिँदा विश्वविद्यालयमा न समयमा परीक्षा हुन्छ, न परीक्षाफल आउँछ । तर विद्यार्थी संगठन यो कुराबाट बेखबरजस्तै हुन्छन् । हरेक ठाउँमा हिस्सा खोज्नु नै विद्यार्थी संगठनका नेताहरूको दिनचर्या भएको आरोप लाग्छ । तर, नेताहरू त्यसलाई सधार्नुभन्दा पनि तैँ चुप मै चुपमा नै काम सक्छन् ।

ऊर्जाशील शक्ति यतिखेर शासनसत्ताको प्रतिपक्षमा हुने आन्दोलनको वाहक बन्नुपर्नेमा अहिले लाचार भ्रातृ संगठनमा रूपान्तरण भएका छन् । यसले आफ्नो ओज, गरिमा र साख गुमाउँदै गएको अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने बताउँछन् ।

१४ वर्षपछि स्ववियुको निर्वाचन

राजनीतिक परिवर्तनको प्रमुख हिस्सेदार बनेको विद्यार्थी आन्दोलन अहिले आफ्नै साख जोगाउन सक्ने अवस्थामा छैन । यदि यस्तो हुँदो हो त १४ वर्षसम्म स्ववियुको निर्वाचन पर्खनुपर्ने अवस्था आउने थिएन होला । तर, विडम्बना भन्नुपर्छ, देशमा गणतन्त्र आएपछि तीनवटा चुनाव भए । दुईपटक त संसद चुनाव नै भयो । स्थानीय तहदेखि संघसम्म दुईपटक चुनाव हुँदा पनि आन्दोलनको वाहक विद्यार्थी संगठनले विश्वविद्यालयमा चुनाव गराउन सकेनन् ।

एकले अर्कोलाई दोष लगाएर नै यतिका वर्षसम्म स्ववियु निर्वाचन हुन सकेन । बल्लबल्ल स्ववियु निर्वाचन भयो । त्यो पनि अधुरो छ । पूरा कलेजहरूमा चुनाव हुन सकेको छैन ।

भनिन्छ, सडक सत्तामा जान्छ र सत्ताको भाषा बोल्छ भने आन्दोलन कमजोर हुन्छ । पछिल्लो समय निजी शैक्षिक संस्थाहरू खुलेपछि त्यसैको पक्षमा विद्यार्थी संगठनका नेताहरू लाग्न थालेको आरोप लाग्छ ।

आन्दोलन हुने, लेनदेन गर्ने, मिलाउने गर्न थाले । आन्दोलन सार्वजनिक सरोकारको विषय हो, हारे पनि जिते पनि । तर, आन्दोलन किन भयो केका लागि भयो रु किन सकिएन भनेर सार्वजनिक विषय नबन्नु नै अहिलेको समस्या हो ।

विद्यार्थी आन्दोलनको औचित्यमाथि प्रश्न उठ्न थालेको छ । हिजोको विद्यार्थी आन्दोलन राजनीतिक दलसँग परिवर्तनको सहयात्री बनेको थियो । अहिले विद्यार्थी आन्दोलनले विगतको त्यो गरिमा, ओज र इतिहासलाई जोगाउनु त कता हो कता, उल्टै बदनाम बनेको छ । पछिल्लो समय यसको औचित्यमाथि नै प्रश्न चिह्न उठ्न थालेको छ । संगठनहरू नै विघटन गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

स्ववियु अग्रगामी परिवर्तनको वाहक, विद्यार्थी हकहितका लागि लड्ने जुझारु संस्था हो । मुलुकको आमूल परिवर्तनका लागि र विद्यार्थीको हकहितका लागि लड्ने विद्यार्थी आन्दोलनको औचित्य आज पनि उत्तिकै रहेको भए पनि विद्यार्थी नेताहरूले नै यसलाई बदनाम गरेको आरोप लाग्ने गरेको छ ।

अहिले पनि कैयौ क्याम्पसहरूकमा निर्वाचन हुन सकेको छैन । उपत्यकाका केही क्याम्पसमा अहिले पनि चुनावका लागि विवाद जारी छ ।