Bagmati Samachar Logo

लामो समय न्यायको लागि लडेकी हेटौंडाकी कंशाकार संसद बन्दै

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फबाट पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलेको घुस मागेको अडियो सार्वजनिक भयो । उक्त अडियो स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईसँग घुस मागेको विषयको हो । अडियो सार्वजनिक भएपछि श्रेष्ठ लाई पार्टीबाट निष्कासित गर्दै विन्दवासिनी कंशाकारलाई सांसद बनाउने निर्णय गरेको छ ।

कंशाकारले पत्रकार सम्मेलनमार्फत आफू सांसद भएको थाहा पाइन् । ‘मलाई पनि थाहा थिएन म सांसद बन्दै छु भनेर । मैले नि समाचारबाट थाहा पाएको हो । पार्टीले गरेको पत्रकार सम्मेलनबाट थाहा पाए,’ उनले भनिन् ।

समानुपातिक सूचीमा कंशाकार महिलातर्फ इन्दिरा रानामगर र सुमना श्रेष्ठपछि रोलक्रममा छिन्। राना उपसभामुख छिन् भने श्रेष्ठ पनि सांसद छिन् ।

कंशाकार एसिड आक्रमण पीडित हुन् । २०७० सालमा हेटौंडा आफ्नो भाँडा पसलमा बसिरहेको बेला भारतीय नागरिकले उनीमाथि एसिड छ्यापेका थिए । पछि ती भारतीय पक्राउ परेर जेल सजाय भोगिरहेका छन् । एसिड छ्याप्नेलाई कडा कारबाही गर्नुपर्ने आवाज उठाउँदै आएकी उनी अब संदसबाट आफ्नो आवाज उठाउने बताउँछिन् ।

‘वार्षिक रुपमा ५० देखि ६० हजार मान्छेहरू विपति वा अन्य कारणले जल्छन् । सदनमा जलेको मनलाई प्रतिनिधित्व गर्नेछु । उहाँहरूलाई न्याय दिनुपर्नेछ । फितलो कानुन छ बलियो बनाउनुपर्ने छ,’ उनले भनिन् ।

यो अवसरलाई चुनौती र अवसर दुवै रुपमा लिएको उनी बताउँछिन् । ‘जलेकाहरूलाई कार्यकारी ठाउँमा अवसर दिइँदैन । पार्टीले मलाई अवसर दियो त्यसका लागि धन्यवाद । मैले स्थान पाएँ, सपना पूरा भएको छ । त्यसलाई पूरा गर्नेछु,’ उनले भनिन् ।