बारा २ उपनिर्वाचनमा तीन अनुहार फरक प्रवृति एउटै, मंसिरमा हारेका वैशाखमा भिड्दै
काठमाडौं । देशभरी तीन क्षेत्रमा आउदो वैशाख १०मा उपनिर्वाचन हुदै छ । जसमा बारा क्षेत्र नम्बर २ मा पनि उपनिर्वाचन हुदै छ । यहि निर्वाचन क्षेत्रमा हुने प्रतिस्पर्धामा तीन जना पात्र फरक फरक छन् तर प्रवृति एउटै भएका छन् ।
लोकतन्त्रमा जनमतको कदर गर्नु पर्ने हुन्छ । तर नेताहरु भने एक पटक चुनाव हारेपनि अर्को चुनावसम्म बस्न नसक्ने अवस्थामा रहेका छन् । राजनीतिमा शक्ति नै सबैथोक हो भन्ने भएपछि कसैले पनि त्यो भन्दा टाढा बस्न चाहदैन । जसरी पनि शक्तिमा पुग्न चाहन्छन् । जसको परिणाम अहिले पनि चार महिना पहिला चुनाव हारेका नेताहरु पुन उम्मेदवार बनेका लेखक तथा राजनीति विश्लेषक नरेन्द्रजंग पिटर बताउछन् । उनले भने,‘राजनीतिमा शक्तिको लागि कुन चिज गर्न बाँकी राखेका छन् । शक्ति भन्दा बाहिर दुनियाँ छैन भन्ने भ्रम छ । विचार बिहीन राजनीतिमा शक्तिको आड लिइन्छ । जुन राजनीति अहिले चलिरहेको छ ।’
यहि प्रवृतिका कारण यहाँका निर्वाचन रोचक हुने भएको छ । रोचक प्रवृति हो ४ महिना पहिला संघीय संसदको निर्वाचनमा हारेर पनि पुनः मैदानमा उत्रेका छन् ।
सत्तागठबन्धनमा नै रहेका दुई दल जनता समाजवादी पार्टी र जनमतका उम्मेदवार हारेका छन् भने अर्को प्रधानमन्त्रीलाई विश्वासको मत दिएर पनि सरकारमा सहभागी नभएका राष्टिय स्वतन्त्र पार्टीका उम्मेदवार छन् ।
संघीय सरकारका लागि बनेको १० दलीय सत्ता गठबन्धनबाटै मंसिर ४ को निर्वाचनमा पराजित तीन उम्मेदवारबीच बारा २ को उपनिर्वाचनमा भिडन्त हुन लागेको हो ।
बारा २ को उपनिर्वाचनका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र रास्वपाका पराजित उम्मेदवार मैदानमा उत्रेका छन् ।
जसपाबाट अध्यक्ष उपेन्द्र यादव, जनमतबाट शिवचन्द्र कुशवाहा र रास्वपाबाट रमेश खरेल मैदानमा उत्रेका छन् ।
यी तीनै जना नेताहरुको पार्टी फरक भएपनि दुई कुरा भने समानता छ । त्यो हो पहिलो तीनै जना मंसिर ४ मा भएको निर्वाचनमा संघीय सांसदमा पराजित हुन् । चुनावपछि बनेको सत्तागठबन्धनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका दलका उम्मेदवार हुन् । उनीहरु अहिले सत्तापक्षका दलका उम्मेदवार हुन् । तर पनि उपनिर्वाचनमा एक आपसमा भिडिरहेका छन् ।
यादव र खरेल अझ राजनीति भाषामा टुरिष्ट उम्मेदवार पनि हुन् । यी दुबै जना बारा भन्दा बाहिरबाट आएर बारमा निर्वाचनमा प्रतिस्पर्धामा उत्रेका हुन् ।
उपेन्द्र यादव मंसिर ४ को निर्वाचनमा सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतसँग पराजित भएका हुन् । मधेश आन्दोलनबाट राष्ट्रिय राजनीतिमा उदाएका यादव पहिलो पटक संसदीय राजनीतिमा आएको जनमत पार्टीका अध्यक्ष राउतसँग नराम्रोसँग पराजित भएका थिए ।
सप्तरीमा ३५ हजार ४२ मत ल्याएर राउत विजयी हुँदा यादवले १६ हजार ९ सय ७९ मत ल्याएका थिए ।
राउतसँग नराम्रोसँग हार व्यहोरेका यादव जसरी पनि संसदमा फर्कन चाहन्थे । उनकै दलका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुदै छ ।
मंसिरमा एमालेसँग तालमेल गरेका यादवले पराजित भएपछि एमालेसँगको मित्रता तोडेर सत्तागठबन्धनमा रहेका कांग्रेस माओवादीसँग मिलेका छन् ।
रामसहाय उपराष्ट्रपति भएसँगै उपेन्द्र सप्तरी छाडेर बारा पुगेका हुन् । यादवले यसअघि मोरङ र सुनसरीबाट निर्वाचन लडेका थिए ।
शिवचन्द्र कुशवाह २०६४ सालको निर्वाचनमा एकीकृत माओवादीबाट संविधानसभामा निर्वाचित भएका थिए । तर २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा कुशवाहाले सद्भावना पार्टी प्रवेश गरेर निर्वाचन लडे ।
बारा २ बाट २०७० सालको संविधानसभा निर्वाचनमा माओवादीले टिकट नदिएपछि माओवादी छोडेका हुन् ।
तर उनी त्यसपछि फेरि माओवादीमै फर्किएका थिए । उनले गत मंसिर ४ को निर्वाचनमा बारा २ बाट पाँच दलीय गठबन्धनको साथमा माओवादीबाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गरे । जसपा नेता रामसहायप्रसाद यादवसँग उनी पराजित भए ।
मंसिरमा माओवादीबाट उठेर हारेपछि पार्टी फेरिरहने पृष्ठभूमिका उनले बुधबारदेखि जनमत पार्टीको यात्रा थाले र टिकट पाएर प्रतिस्पर्धामा मैदानमा उत्रेका छन् ।
मंसिर ४ को निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जसपाका रामसहायप्रसाद यादव १३ हजार आठ सय २२ मतसहित विजयी भएका थिए । उनलाई एमालेको साथ थियो । अहिले एमाले पनि आफ्नै उम्मेदवार उठाएको छ ।
कुशवाहाले १३ हजार चार सय ६८ मत ल्याएका थिए । कुशवाहा केवल तीन सय ५४ मतले हारेका थिए । अहिले कुशवाह चुनावी मैदानमा त छन् तर उनलाई अन्य दलको साथ छैन । मंसिरमा अन्य चार दलको साथ थियो ।
रमेश खरेलले काठमाडौं १ बाट मंसिर ४ मा नमज्जाले पराजित भएका थिए । नेपाल सुशासन पार्टीका अध्यक्ष समेत रहेका खरेल ३ हजार १२४ मतमात्रै ल्याएर निर्वाचनमा पाँचौ भएका थिए । तर जसरी पनि सांसद हुने लालसा राखेका खरेल अन्त रास्पाबाट चुनाव लड्न तयार भएर बारा झरेका छन् ।
काठमाडौंमा मतदाताले निराश बनाएका खरेललाई बारामा आफ्नो छविमा भन्दा पनि रवि लामिछानेको भरोसा बढी छ । बारा–२ मा प्रतिनिधि सभा सदस्यमा रमेश खरेल मैदानमा उत्रेका छन् । मंसिरमा उनले काठमाडौं १ बासीलाई सुशासन, शिक्षा र सुरक्षाको प्रत्याभूति दिलाउने भोषणा गरेर चुनावमा होमिएका थिए । तर उनको नाराले काठमाडौं १का नागरिकलाई आकर्षित गरेन ।
काठमाडौं–१ मा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह ७ हजार १४३ मत ल्याएर निर्वाचित भए ।
बारा क्षेत्र नं २ मा ८२ वटा मतदान स्थलमा १ सय ७३ वटा मतदान केन्द्र तोकिएको छ । जिल्ला निर्वाचन कार्यालय बाराका अनुसार क्षेत्रमा १ लाख ५ हजार २ सय ९८ मतदाता छन् ।
खरेललेको पार्टीको चुनाव चिन्ह बच्चा लिएकी आमा थियो । अहिले घण्टी बजाउँदै बारा २ मा उम्मेदवार भएर झरेका छन् ।
प्रहरी सेवाबाट २०७४ चैत २८ मा राजीनामा दिएका उनी त्यसपछि राजनीतिक मोर्चामा आएका हुन् । आफ्नै नेतृत्वमा राजनीतिक दल खोलेका खरेल छोटो समयमा नै चुनाव जित्नको लागि नै रास्वपा प्रवेश गरेका छन् ।
रास्वपा भन्दा पहिला निर्वाचन आयोगमा दल दर्ता गराएका थिए । उनले २०७८ पुस २२ मा ४७ सदस्यीय केन्द्रीय समिति भएको नेपाल सुशासन पार्टी दर्ता गराएका थिए । पार्टी गठन भने उनले २०७८ मंसिर २४ मा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: