रविको नागरिकता दुरुपयोगसम्बन्धी मुद्दामा आज सुनुवाइ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । युवराज पौडेलले सोमबार दर्ता गरेको रिटको आजका लागि पेसी तोकिएको छ ।
अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिए पनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने माग रिटमा गरिएको छ । रविमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश गर्न माग निवेदकले रिटमा गरेका छन् ।
नागरिकता दुरुपयोग गरेको आरोप लगाउँदै परेको उजुरीमा अनुसन्धान गरेको प्रहरीले लामिछानेमाथि मुद्दा नचल्ने रायसहित प्रतिवेदन पेस गरेको थियो । त्यही प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको थियो । त्यही निर्णय महान्यायाधिवक्ता डा। दिनमणि पोखरेलले सदर गरेका थिए ।
नेपाली नागरिकता त्यागेर अमेरिकाको नागरिकता लिएको र अमेरिका छाडेर नेपाल फर्किएपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले रविको सांसद पद खारेज गरिदिएको थियो ।
अदालतको आदेशपछि उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएका थिए । तर पुरानै नागरिकताबाट राहदानी बनाएको भन्दै उनीविरुद्ध नागरिकता दुरुपयोगको मुद्दा परेको छ ।
प्रतिक्रिया दिनुहोस्: