झण्डै आकाशमै ठोकिएका थिए नेपाल एयरलाइन्स र एयर इन्डियाका विमान
काठमाडौं । शुक्रबार नेपाली आकाशमा ठूलो विमान दुर्घटना हुनबाट जोगिएको छ । शुक्रबार नेपाल एयरलाइन्सको विमान र भारतीय एयरलाइन्स कम्पनी एयर इन्डियाको विमान नेपाली आकाशमा झण्डै ठोक्किनबाट बचेका हुन् ।
शुक्रबार मलेसियाको क्वाललम्पुरबाट काठमाडौंतर्फ आइरहेको नेपाल एयरलाइन्सको विमान र भारतबाट काठमाडौं आइरहेको एयर इन्डियाको विमान सिमराको आकाशमाथि होल्ड गरिएको थियो ।
सो होल्डका क्रममा १९ हजार फिटमा रहेको एयर इन्डियाको जहाज एक्कासि १५ हजार फिटमा झर्दा नजिकै रहेको नेपाल एयरलाइन्सको विमानसँग झण्डै ठोक्किने अवस्था आएको थियो । नेपाल एयरलाइन्सको विमान पनि ७ हजार फिट तल ओर्लिएपछि ठूलो दुर्घटना टरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ दुलालले यो प्रकरणमा दुई जना एटीसीमाथि कारबाही गरिएको बताए । उनले अहिले उनीहरूलाई कामबाट हटाइएको बताए । घटनाबारे छानबिन गर्न समितिसमेत गठन गरिएको प्राधिकरणले जनाएको छ ।
यो प्रकरणमा आवश्यक कारबाहीका लागि नागरिक उड्डयन प्राधिकरणले भारतीय उड्डयन प्राधिकरणलाई पनि पत्र लेखेको छ ।
प्रतिक्रिया दिनुहोस्: