नेपाल प्रहरीको आईजीपीमा बसन्त कुँवर नियुक्त
काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा बसन्तबहादुर कुँवर नियुक्त भएका छन् । शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा कुँवरलाई बढुवा गर्ने निर्णय गरेको हो ।
उनी नेपाल प्रहरीको ३० औँ आईजीपी भएका छन् । एआईजीको वरीयतामा कुँवर नै पहिलो नम्बरमा थिए ।
आईजीपी कुँवर ८ चैतमा डीआईजीबाट एआईजीमा बढुवा भएका थिए । एआईजीको फूली लगाएको तीन दिनमै कुँवर आईजीपीमा बढुवा भएका हुन् । प्रहरी महानिरीक्षकका लागि कुँवरसँगै टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि दौडमा थिए ।
आईजीपी धीरजप्रताप सिंह प्रहरी नियमावली, २०७१ मा रहेको ३० वर्षे सेवा अवधिका कारण आजैदेखि अवकाशमा गएका छन् । आईजीपी कुँवरले ५ चैत २०५१ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए । भदौ २०६३ मा डीएसपीमा बढुवा भएका कुँवर फागुन २०७१ मा एसपी, फागुन २०७५ मा एसएसपी र ८ असार २०७९ मा एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए ।
यस्ताे छ उनकाे कार्य अनुभव
कुँवर ९ महिना डीआईजीको कामकारबार्हिको अनुभव छ । उनले मधेस प्रदेश प्रहरी प्रमुख र प्रहरीको प्रधान कार्यालयको कार्य विभागको कमाण्ड सम्हालेका थिए ।
एसएसपी हुँदा कुँवरले प्रहरीको केन्द्रीय प्रवक्ताको भूमिका र प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्डसमेत सम्हालेका छन् । त्यस्तै, एसपीमा नुवाकोट र चितवन जिल्ला प्रमुखका रूपमा काम गरेका थिए ।
डीएसपी हुँदा मनाङ, गोरखा र धादिङ जिल्लाको कमाण्ड सम्हालेका थिए ।
प्रतिक्रिया दिनुहोस्: