बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले पाए विश्वासको मत, प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएका छन् । शुक्रबार अपराह्न बसेको प्रदेश सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए ।
प्रदेशसभामा ११० जना सांसद रहेका छन् । आजको बैठकमा ९१ जना सांसद उपस्थित थिए । जसमा जम्मकट्टेलको पक्षमा ६७ मत परेको थियो । विपक्षमा १६ र ७ जना तटस्थ बसेका थिए ।
मुख्यमन्त्री जम्मकट्टेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टी गरी ४ वटा दलका सांसदहरुले समर्थन गरेका थिए ।
यो प्रदेश सभामा कांग्रेसका ३७, नेकपा एमालेका २७, माओवादीका २७, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।
प्रदेश सभाका सभामुख भुवनकुमार पाठकका अनुसार, मुख्यमन्त्री जम्मकट्टेलले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ भनी प्रस्ताव राखेका थिए । मुख्यमन्त्रीले विश्वासको मत पाएपछि प्रदेश सभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ ।
प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले शुक्रबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएको घोषणा गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
उनले यसअघि गत माघ ३ गते विश्वासको मत लिएका थिए । त्यतिखेर उनलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टी गरी ६ वटा दलका सांसदहरुले समर्थन गरेका थिए ।
राप्रपाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अल्पमतमा परेका थिए । संवैधानिक व्यवस्था अनुसार सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र मुख्यमन्त्रीले सांसदबाट विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था छ । सोही व्यवस्था अनुरुप उनले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्: