स्ववियु निर्वाचनमा जनप्रियमा गोले र मनहरीमा घिसिङ् निर्वाचित

हेटौंडा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्र्तगत मकवानपुरको हेटौंडास्थित जनप्रिय बहुमुखी क्याम्पस र मनहरी बहुमुखी क्याम्पसमा मत गणना सम्पन्न भएको छ ।
आईतबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार, जनप्रिय क्याम्पसको स्ववियु अध्यक्षमा मुना गोले र मनहरी क्याम्पसको स्वियु अध्यक्षमा कुमार घिसिङ् निर्वाचित भएका छन् ।
गोलले विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)बाट र घिसिङ् नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका हुन् ।
यससँगै जिल्लाको ३ वटा क्याम्पसको स्ववियु निर्वाचनको मत परिणाम घोषणा भएको छ । यसअघि हेटौंडा उपमहानरपालिका वडा नम्वर ६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा अनेरास्ववियूका दिवस सिलवाल निर्वाचित भईसकेका छन् ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका मकवानपुरमा रहेको ८ वटा क्याम्पस रहेको छ । तीमध्ये अब ४ वटा क्याम्पसको मात्रै मत परिणाम आउन बाँकी छ । जसमा मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडन क्याम्पस, वन विज्ञान अध्ययन संस्थान र निर्मल बहुमुखी क्याम्पस रहेको छ । ती क्याम्पसहरुमा हाल मत गणना जारी छ ।
यस्तै, जिल्लाको थाहा नगरपालिकाको पालुङ बहुमुखी क्याम्पसमा भने सबै राजनीतिक दलका विद्यार्थी संगठनबीच सहमतिमा यसअघि नै स्ववियु समिति गठन गरिएको छ । सो क्याम्पसमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पुष्कर श्रेष्ठको नेतृत्वमा सबै पदाधिकारी र सदस्यहरू सर्वसम्मत चयन गरिएको हो ।
ती सबै क्याम्पसमा २ वटा प्यानल बनेर प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसंले एउटा प्यानल बनाएको छ भने नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र विप्लव नेतृत्वको नेकपा निकट अखिल .क्रान्तिकारी को अर्को प्यानल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्: