Bagmati Samachar Logo

बागमती प्रदेश सरकारले आफ्नै भवन बनाउने

हेटौंडा । बागमती प्रदेश सरकारले आफ्नै भवन बनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नै संरचना बनाउने निर्णय गरेको छ।

हेटौंडा १६ शिवम् सिमेन्ट उद्योगनजिकै रहेको जग्गामा प्रदेश सकारका सबै मन्त्रालय एकैठाउँमा रहनेगरी भवन निर्माण गर्ने निर्णय भएको सरकारका आर्थिक मामिला तथा योजनामन्त्री तथा प्रवक्ता जगन्नाथ थपलियाले बताए ।

भवन निमार्णका लागि कार्ययोजना तयार गर्ने निर्णय पनि भएको थपलियाले बताए ।

उनका अनुसार संरचना निर्माणका लागि भौतिक पूर्वाधार मन्त्रालयको काम अघि बढाउने निर्णय मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ। भर्खरै समिति बनाएर जग्गा प्राप्तिका लागि संघीय सरकारसँग अनुमति मागिएको छ। भवन निर्माणका लागि प्रक्रिया अघि बढाइएको र प्रदेश सरकारको भोगचलनमा जग्गा ल्याएपछि डीपीआरको कार्य अघि बढाइने छ ।

तत्कालीन समितिले हेटौँडा–१९ लेवटमा ८०, हेटौँडा–१६ मा ५४, हेटौँडा–६ चित्रेपानीमा २५, हेटौँडा–९ लामसुरे हाइटमा १५, हेटौँडा–१७ डिपोचौर हटियामा १२, हेटौँडा–९ स्थित हेटौँडा सिमेन्टको स्वामित्वमा रहेको पाँच, हेटौँडा–१५ भोर्लेमा २.१३ र हेटौँडा–१७ हटियाको पश्चिम डिपोचौरमा २।१४ बिघा जग्गा छनोट गरेको थियो। सो मध्येबाट हेटौंडा १७ हटियामा रहेको २.१४ बिघा जग्गामा प्रदेशको संरचना निर्माणका लागि प्रक्रिया थालनी गरिने अर्थमन्त्री एवं सरकारका प्रवक्ता थपलियाले जानकारी दिए।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकारको अघिल्लो कार्यकाल अर्थात् निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे हुँदा अर्थमन्त्री रहेका हालका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सो स्थानको जग्गा छनोट गरेका थिए। संरचना निर्माणका लागि आठ स्थानमा कूल १ सय ९५.२७ बिघा जग्गामध्ये हटियाको जग्गा प्रदेशको संरचना निर्माणका लागि छनोटमा परेको हो।